Sunday, February 24, 2013

माँगि विवाह भन्दा प्रेम विवाह नै बढि सहृदयी



जिवेश झा
विवाहलाई हिन्दु समाजले अनिवार्य आवश्यकताका रूपमा लिनेगरेको छ । त्यसैले हाम्रा युवायुवतीहरू विवाहबिनाको जीवन परिकल्पना पनि गर्दैनन् । उनीहरूको सपनाको संसारमा विवाहले राम्रैसँग डेरा जमाएको पाइन्छ । हरेक युवा धड्कन विवाहको कल्पनाले रोमाञ्चित हुन्छ । प्रत्येक मान्छे पहिले परिवारद्वारा हुर्किन्छ र पछि परिवारलाई हुर्काउँछ । ऊ परिवारमा जन्मन्छ, परिवारको मायाप्रेम र भरणपोषण पाएर हुर्किन्छ । आजको यस वैश्विकरणको युगमा युवाहरु माँगी विवाह भन्दा प्रेम विवाहलाई नै बढि सहृदयी , सबल, र प्रेरक ठान्छन्। आजको यस आलेखमा युवाहरुको दृष्टिकोणबाट विवाहको विश्लेषण गर्ने जमर्को गरेको छु।
जब उसको युवावस्था आइपुग्छ र कर्तव्यको भारी काँधमा थपिन थाल्छ, तब उसले नयाँ परिवारलाई जन्म दिन्छ । उसले नयाँ परिवारको हेरचाह, भरणपोषण गर्छ । यसरी परिवारमा जन्मेर परिवारद्वारा हुर्किएको प्रत्येक मान्छेले जीवनमा एक न एकचोटि नयाँ परिवारलाई जन्माउँछ र हुर्काउँछ ।

मान्छेको जीवनमा प्रेम, विवाह र परिवार अत्यन्त महत्वपूर्ण छन् । यी शब्दहरू मानव जीवनमा एकआपसमा जोडिएर आउने घनिष्ठ सूत्र जस्तै हुन् । प्रेमविनाको विवाह र विवाहबिनाको परिवार हामीले कल्पनासम्म गर्न सक्दैनौँ । प्रेमको जन्म स्वतन्त्रतामा हुन्छ । प्रेमको जन्म स्वतन्त्रताको भूमिमा हुन्छ । प्रेम व्यक्तिको आत्मदान हो, बन्धन होइन ।   परिवारमा आपसी प्रेम त जहिले पनि कायम रहेको हुन्छ । हामीले विवाह गर्नुपूर्व कम्तिमा पनि एक वर्ष प्रेम गर्न सक्यौँ भने विवाहपछिको जीवन सहज बन्न पुग्छ भन्ने मत युवा जोडीहरुको छ । यो कसरी हुन्छ त ? विवाह दुई जना पराईका बीच कायम हुने नयाँ सम्बन्ध हो । स्वतन्त्र मिलनमा उनीहरू एउटा लयपूर्ण संगीतमा डुब्छन् । उनीहरू त्यसमै बिलीन हुन्छन् । यही क्षणमा एउटा बच्चाले गर्भधारण गर्‍यो भने त्यो बच्चाले परमात्मा प्राप्त गर्न सक्छ । किनभने उसको जन्म प्रेममा हुन्छ । कसैले जुराइदिएको, मिलाइदिएको, परिस्थिति बनाइदिएको होइन । ऊ स्वतः स्वाभाविक अवस्थामा गर्भमा आएको हो । प्रेमबिनाको अपर्झट विवाह गर्दा नयाँ मान्छेलाई पहिल्यै बुझ्ने अवसर पाइँदैन ।


यदि विवाहपूर्व एकअर्कालाई नजिकबाट बुझ्ने मौका पाइयो भने त्यो सम्बन्ध कि त त्यतिमै सीमित रहन्छ र विवाहसम्म पुग्न सक्दैन, कि त विवाहसम्मै पुग्छ र जीवनमा सफल दाम्पत्य सम्बन्ध स्थापित हुन पुग्छ । यो कसरी भने, जब कम्तिमा एक वर्षसम्म युवायुवती वा केटाकेटीले एकआपसमा प्रेम गर्न पाउँछन्, तब आफ्ना मनका भावना, चाहना, विचार र अन्य कुराहरू आदानप्रदान हुन्छन् । अनि एकलाई अर्कोको व्यवहार, भावना, लक्ष्य, विचार कस्तो लाग्छ ? त्यो बुभ्न सकिन्छ । यदि उसको भावना र चाहना आफुसँग मेल खाने छ भने र उसको जीवनको लक्ष्य अनि विचार पनि आफूलाई चित्त बुझ्दो लाग्छ भने त्यहाँ सम्बन्ध अगाडि बढाउनुपर्छ । साथै एकले अर्कोप्रति कस्तो व्यवहार गर्छ ? कतिको माया दर्शाउँछ र आफ्ना विचार र भावनाको कतिको कदर गर्छ ? भन्ने कुरा पनि नजिकबाट नियाल्न सकिन्छ ।
प्रत्येक युवायुवतीका आ-आफ्ना लक्ष्य, चाहना र भावना रहेका हुन्छन् । तर सबैका चाहनाहरू सबैसँग मेल खाँदैनन्, हरेकका फरकफरक हुन सक्छन् । विवाहपछिको जीवनलाई सहज, सफल बनाउनु हरेक युवायुवतीको चाहना हुन्छ । र, त्यस चाहनाअनुसार उनीहरूले आफ्नो स्वभाव र जीवनसँग घुलमिल हुन सक्ने व्यक्तिलाई रोजेका हुन्छन् । त्यसैले विवाहपूर्व कम्तिमा पनि एक वर्ष युवायुवतीले एकअर्कालाई नजिकबाट बुझ्ने मौका पाउनुपर्छ । अनि मात्र एकअर्काले हृदयदेखि दिल खोलेर स्वागतसम्मान गर्नु र विवाह गर्नु उत्तम हुन्छ । विवाहपछिको जीवन कलहमय बनाउनु र एकले अर्कोको मर्मस्थलमा चोट पुग्ने गरी धोका दिनुभन्दा त विवाहपूर्व नै सही निष्कर्षमा पुग्नु राम्रो कुरा हो ।

सबैले चाहन्छन्, आफ्नो दाम्पत्य जीवन झरनाभै निरन्तर सुमधुर गतिले बगिरहोस् । तर तिनीहरूको इच्छाविपरीत कतिपयको दाम्पत्य जीवन त साउनको उर्लंदो खहरेभैँ बन्न पुगेका सयौँ उदाहरण हाम्रो सामु छर्लङ्गै छन् । आखिर यसको कारण के हो त ? यसको मुख्य कारण नै एकले अर्कालाई राम्ररी चिन्न नसक्नु हो । हाम्रो समाजमा धेरैजसो मागी विवाह हुन्छन् । तर ती कतिपय असफल हुने गरेका छन् । घरमा कलह हुने र लोग्नेस्वास्नीबीचमा नै काटमार हुनेजस्ता घटनाहरू घटिरहेका छन् । यस्तो विवाहमा पहिलेदेखि नै युवायुवतीबीच चिनजान नै भएको हुँदैन र एकले अर्कोलाई राम्ररी बुझ्न सकिरहेका हुँदैनन् । अनि विवाहपछि उनीहरूमा खटपट सुरु भइहाल्छ । कारण होएकलाई अर्कोको बानीव्यवहार, रूपरङ्ग, काम गराइको ढाँचा, चाहना र भावना मन नपर्नु । अर्थात् एकसँग अर्कोको कतिपय कुराहरू मिल्न नसक्नु । दाम्पत्य जीवनमा सफलता पाउनलाई नारीपुरुष एउटै रथका दुई पाङ्ग्रा सरी समान हुन सक्नुपर्छ । तर उनीहरूमा व्यापक असमानता हुँदा त्यो रथ गन्तव्यमा पुग्न सक्दैन र बीचैमा दाम्पत्य यात्रा लथालिङ्ग हुन पुग्छ । अनि, त्यहाँ स्वस्थ परिवार कसरी चल्न सक्छ ?

विवाहअघि प्रेम गर्नु र एकअर्कालाई राम्ररी बुझेर मात्र विवाह गर्नुका फाइदा धेरै छन् । हुन त कतिपय प्रेमविवाह पनि बीचैमा तुहिएका घटनाहरू पनि छन् । तर यसको कारणचाहिँ वास्तविक प्रेमलाई नबुझेरै प्रेम गर्न खोज्नु र एकले अर्कोलाई राम्ररी नबुझीकनै विवाह गर्नु हो । जस्तो कि एउटा उदाहरणकेटा साह्रै अल्छी छ र बेलाबेलामा ऊ झर्किन्छ तर केटी साह्रै लगनशील छे र बेलाबेलामा लोग्नेबाट अपमान मात्र पाउँछे भने त्यो दाम्पत्य के सफल होला ? त्यस्तै, केटी देशविदेश घुम्न मन पराउँछे वा सिनेमा हेर्न र बढी मनोरञ्जन प्राप्त गर्न चाहन्छे, तर केटा त्यसको ठीक विपरित छ, उसलाई मनोरञ्जन र घुमघाम मन पर्दैन भने त्यो सम्बन्ध के बलियो होला ? त्यस्तै, केटालाई यौन चाहना धेरै हुने गर्छ, तर केटी त्यति सेक्सी छैन, उसलाई यौन चाहना तुलनात्मक रूपले कम हुन्छ भने उनीहरूको सम्बन्ध कति दिन टिक्ला ? त्यस्तै, केटीको लक्ष्य कलाकारिता वा सामाजिक सेवामा छ भने केटाको लक्ष्य विदेश जानु वा जागिर खानु छ, त्यस्तो सम्बन्ध पनि दिगो रहन सक्दैन ।
 विवाह गर्नुको अर्थ नै के हो भने एकले अर्कोलाई आफ्नो जीवनको घनिष्ठ सहयात्रीलाई स्वीकार्नु हो । त्यसैले वैवाहिक जीवनमा सफल हुन केटा र केटी दुवैका भावना, चाहना, बानी, व्यवहार, जीवनको लक्ष्य, उद्देश्य, सामाजिक हैसियत आदि धेरै कुराहरू उस्तैउस्तै मिलेको हुनुपर्छ । यसो हुँदा दुवैले एकै क्षेत्रलाई आफ्नो जीवनको गन्तव्य बनाउन सक्छन् र सँगसँगै रमेर बाँच्न सक्छन् । अनि विवाहको सफल परिणाम नै स्वस्थ परिवार हो । हुनत हरेक दम्पतीको उद्देश्य सफल घरवार बसाउनु नै रहेको हुन्छ । तर यो उद्देश्य हासिल गर्न विवाह सफल बन्नु पहिलो शर्त हो । विवाह सफल भयो भने मात्र त्यो जोडी सधैँभरि सँगै रमाएर यात्रा गर्न सक्छ । यात्रामा उनीहरूका हरेक लक्ष्य पनि सफल हुन्छन् ।

यहाँ विवाहअघि मात्र प्रेम गर्नुपर्छ भन्न खोजिएको पनि होइन । किनकि प्रेम त जीवनपर्यन्त चलिरहने निरन्तर प्रक्रिया हो । त्यसैले विवाहपश्चात पनि स्वस्थ र दिगो प्रेमको नित्य जरुरत हुन्छ । हुनत मान्छेका चाहना र भावनाहरू पनि फेरिरहने हुनाले सधैँ एकनाश रहँदैनन् । तर पहिले सहमत भएर सँगै बाँच्ने वाचा सहित विवाह गरिसकेपछि त्यसलाई सफल तुल्याउनु प्रत्येक दम्पत्तिको अमूल्य कर्तव्य हुन आउँछ । विवाहपछि पनि आपसी प्रेमलाई सुदृढ र प्रभावकारी बनाउनमा लोग्नेस्वास्नी दुवैले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूले एकअर्कालाई हरेक काममा सघाउने, सामुहिक निर्णय लिने, दुवैको सल्लाह बमोजिम काम गर्ने, एकअर्कोको विचार र भावनाको कदर गर्ने तथा चाहना पूर्ति गर्नेतिर ध्यान दिन सक्यो भने त समस्या आउँदैन । यस्ता महत्त्वपूर्ण कुरामा ध्यान पु¥याउनु जरुरी हुन्छ । सम्बन्ध दिगो, स्थायी र सुखी भए मात्र उनीहरूको नयाँ परिवार सुखी र सफल हुन्छ ।

यी सबै दृष्टिले हेर्ने हो भने प्रेमविवाहपरिवारसफल जीवनका सूत्र हुन । परिवारमा पनि प्रेम यथावत रहन्छ । दम्पत्तिले एकआपसमा र सन्तानप्रति प्रेम गर्छन् । मान्यजन एवं अग्रजप्रति श्रद्धा र सत्कार गर्छन् । त्यसो गर्नु नै उनीहरूप्रतिको प्रेम हो । प्रेमले विवाहलाई सफल बनाउन जुनसुकै अवस्थामा सघाइरहेको हुन्छ । प्रेमविनाको विवाह त संसारमै टिक्न सक्दैन । अनि विवाह बिनाको परिवार त अपवाद मात्र हुन सक्छ । तर दुर्भाग्यवस पुर्वीय जगतमा प्रेम विवाह बढि असफल भएको देखिन्छ।

(साभारः २४-०२-२०१३ द एक्सक्लुसिभ वीक्लि) 

No comments:

Post a Comment