Saturday, February 18, 2012

महाशिबरात्रि: एक साम्यबादी पर्व

जिवेश झा
भोली महाशिबरात्रि।देबहरुको देब महादेबको बिराट महाशिबरात्रि।महाशिवरात्रि हरेक बर्ष हर्षोल्लासका साथ फागुन महिनामा हामी माझ आँउछ।भगबान शिबको आशिर्बाद पाउन र भएजतिको सबै बिघ्नबाधाहरुको अन्त्य गर्न हिन्दु समाजले भगवान शिबलाई गुहार्छन्।फाल्गुन महिनाको कृष्ण चतुर्दशी महाशिवरात्रिको नामले जानिन्छ। ईशान संहितामा यसलाई 'महानिशा' भनिएको छ। यसै घोर अँध्यारोको  मध्य रातमा शिव करोडौं सूर्यहरुको समान तेजस्वी भएर पृथ्वीबाट लिंग रूपमा  प्रकट भएका थिए। धार्मिक दृष्टिले शिवरात्रिको चारै प्रहरमा दूध, दही, घ्यु तथा मधबाट शिवको चार रुपहरु- ईशान मूर्ति, अघोर मूर्ति, वामदेव मूर्ति तथा सद्योजात मूर्तिलाई  क्रमश: अभिषेक गर्ने बिद्यान छ। प्रभातकालमा विसर्जन पछि अमावस्याको व्रत वा उपवास राख्दै शिवसँग यो प्रार्थना गर्नु पर्छ कि 'हे शंकर! मेरो समाज नित्य शासक बर्गको यातनाबाट उत्पीडि़त छ। त्यसैले तपाई मेरो यो ब्रतबाट सन्तुष्ट भएर मलाई ज्ञानदृष्टि प्रदान गर्नु होस र मेरो समाजलाई यो शासकबर्गको चङ्गुलाबाट मुक्त पार्नुहोस।'
सबै देवताहरुको पूजा प्राय: दिनमै हुन्छ तर भगवान शिवलाई  रात्रि अति प्रिय छ। त्यसमा पनि फाल्गुन कृष्णपक्षको घोर अन्धयारोमय चतुर्दशीको रात त भगबानलाई अति प्रिय छ रे। पौराणिक मान्यताको अनुसार शिवरात्रिको दिन शिव-पार्वतीको शुभ विवाह भएको थियो। महाकाल शिवको यो शक्ति पनि महाकाली अथवा कालरात्रिको नामबाट प्रसिद्ध छ, जसलाई शिवको अर्धांगिनी मानिएको छ। परन्तु शिवको रात्रिपूजाको वैज्ञानिक कारण यो हो कि जब संसार अन्याय र अत्याचारको घोर महानिशा कालबाट गुज्रन्छ तब पृथ्वीको पेटबाट प्रकट हुने कुनै सूर्य जस्ता देव आफ्नो संहार शक्तिको तेजस्विताबाट पृथ्वीलाई अँध्यारोमय कालरात्रिबाट मुक्ति दिलाउँछ। यहि कारणले सृष्टिको आदिकालबाट नै शिवपूजा नेपालमा मात्रै होईन संपुर्ण हिन्दु समाजमा लोकप्रिय रहँदै आएको छ।
 नेपाल, भारत मिश्र, रोम, फ्रांस, जर्मनी, इन्डोचायना, बंगलादेश आदि विश्वका अनेकौं देशहरुमा तथा अनेक धर्मका अनुयायिहरुको बीचमा शिवलिंगको पूजा-अर्चनाको ऐतिहासिक अवशेषप्राप्त हुनेगरेका छन। उत्तर अफ्रीकाको 'मेफिस' 'अशीरिश' नामक क्षेत्रमा नन्दीमाथि विराजमान तथा त्रिशूलधारी शिवको बिभिन्न मूर्तिहरु हेर्न मिल्छ, जसको त्याँहाका बासिन्दाले बेलपत्रले पूजा गर्छन् र दूधबाट अभिषेक पनि  गर्छन्। तुर्किस्तानको बॉबीलोन नगरमा विश्व का सबैभन्दा ठुलो(अग्लो) शिवलिंग निर्मित छ,  जसको  ऊंचाई बाह्र सय फिट रहेको छ। रोम, यूनान र मिश्रमा त्यही फाल्गुन महिनाको वसन्तोत्सवमा लिंग पूजाको वार्षिक पर्व मनाईन्थयो जुन महिनामा नेपालीहरु पनि शिवरात्रिको पर्वलाई धुमधामका साथ मनाँउछन्।
पश्चिमी जगतमा लिंग पूजा 'फैल्लस वरशिप' को रूपमा प्रचलित छ। प्रसिद्ध इतिहासकार कर्नल टॉडको अनुसार 'फैल्लस' को उत्पत्ति संस्कृतको 'फलेश' बाट भएको छ। किनकि शिवले यज्ञ, पूजाबाट प्रशन्न भएर फल शीघ्र दिनुको कारण 'फलेश' भनिन्छ। इन्डो चायनामा संस्कृतको 92 त्यस्ता अभिलेख भेटिएकाछन् जसको  प्रारम्भ 'ऊँ  नम: शिवाय' महामन्त्रबाट सुरु हुन्छ।
मिथिलामा महाशिबरात्रि:
पूर्विय हिन्दु परम्परामा  शिव परब्राहृ, परमात्मा, रुद्र, महादेव आदि विभिन्न नामबाट प्रसिद्ध छन्। 'शिव' शब्दको एक व्याख्या अनुसार अन्नत आगो\तेजबाट  संतप्त भएर प्राणी जहां विश्राम हेतु सुत्छन् अथवा प्रलयको अवस्थामा जगत जहाँ सुत्छ, त्यसैलाई 'शिव' भनिन्छ। 'शेरते प्राणिनो यत्रा स शिव:' अथवा 'शेते जगदस्मिति शिव:' भगवान राम र कृष्णको आविर्भाव क्रमश: त्रेता र द्वापर युगमा हुन्छ, परन्तु  शिव सृष्टिको आदिकालबाट नै असहाय र निर्बल प्राणिको रक्षा गर्ने एकमात्र देव हुन। आखेट युगमा जब मनुष्य पशुहरुको शिकार गर्दथे तब पशुपति शिव आखेटकहरुलाई आफ्नो धनुष-बाणले डराएर असहाय तथा निर्बल प्राणिहरुको रक्षा गर्दथे। शिवको देवत्वको यहि नै विशेषता हो कि उनि प्रत्येक युगमा दीन-हीन, निर्बल, असहाय तथा सर्वहारा वर्गको संरक्षक देवताको रुपमा प्रकट भए। त्यसैले यो पर्वलाई साम्यबादि पर्व पनि भन्न सकिन्छ।शिबको पुजा धनले गरिन्न, शिबको नजरमा धनि-गरिब सब एक समान हुन्। प्राणिको एक मात्र परम मित्र हुनुको कारण शिवलाई 'महादेव' पनि भनिन्छ।मैथिलीको यो शिब स्तुती हेरौ- निलकण्ठ भोला बड दयालु छै गे बहिना दु:खिया के करै छै नेहाल, यसरि नै एक अर्को स्तुतिबाट साक्षात्कार होऔं-टुटली फाटली मरैया मे गौरी दाई रहथिन कोना क ऽ हे, कतेक दु:ख सहथिन हे,
स्मरणिय होस मिथिलामा अन्यत्रभन्दा शिबको अर्कै रुप छ वा भनौ शिबको पृथक उपस्थिति छ।मधुबनी जिल्लाको मङ्गरौनि गाँउमा एकादश ज्योतिर्लिङ्ग स्व स्थापित भएको हो। त्याँहा भगवान शिबको एघार लिङ्ग, र स्व-स्थापित आकृतिहरु छन्।उक्त मन्दिरमा भगबान राम, हनुमानलगायत बिभिन्न भगबानहरुको चित्र शिब लिङ्गहरुमा आफै प्राकृतिक रुपले कोरिंदैछ, जुन हामी मिथिलाबासीका लागि गर्वकै बिषय हो। भगबान शिब मिथिलाप्रति मेहरबान रहेको यसले पुस्ट हुन्छ।यसरी नै मैथिली साहित्यका महाकवि बिद्यापतीको नोकरको रुपमा भगबान शिब प्रस्तुत भएको ईतिहास मिथिलाबासीका लागि आज पनि उतिक्कै ताजा छ।बिद्यापती माता दुर्गाको परमभक्त थिए।उनि अति बिपन्न पनि थिए। माता दुर्गालाई प्रसन्न पार्नका लागि बिभिन्न साहित्यिक रचनाहरु निर्माण गर्दथे। प्रस्तुत छ एक स्तुतिको अंश: जय जय भैरबी अशुर भयाबनी पशिपति भामि निमाया। यो स्तुति सुन्ने बितिक्कै भगबती माता अति प्रशन्न भईन र भगबान शिबलाई गुहारेर भनिन कि बिद्यापतिको जीबन कष्टकर रहेकोले तपाई बिद्यापतीको सेबामा लाग्नुस।माता भगबतीको यो बिन्ति सुन्ने बितिक्कै भगबान शिब बिद्यापति सामु उगना को रुपमा प्रस्तुत भए र उनको सेबामा लागे।अनि बिद्यापतीको जीबनस्तर उकासियो।एक दिन बिद्यापति र उगनासँगै कहिं गईरहेका थिए, मध्य यात्रामा बिद्यापतिलाई तिर्खा लागेछ। उनले उगनालाई पानीको व्यवस्था गर्न आज्ञा दिए।उगना एक गुप्त ठाँउमा गई आफ्नो बास्तविक रुप भगबान शिबको रुपमा फर्केर आफ्नो जटाबाट पानी निकाले र त्यही पानी बिद्यापतिलाई खान दिए। बिद्यापति एक सुर्को खाना साथ थाहा पाए कि यो त गंगाजल पो रहेछ। उनले तत्कालै उगनालई आफ्नो बास्तविक रुप देखाउन आग्रह गरे। उगना भगबान शिबको रुपमा प्रस्तुत भएको देख्दा बिद्यापती अचम्म परे ।भन्नुको अर्थ बिद्यापती एक सामान्य पुरुष थिएन्न। एक बिद्वानले बिद्यापति र भगबान शिब एकै सिक्काका दुई पाटा हुन भनेका छन्।उनको मत मान्ने हो भने बिद्यापतीको पुजा गरे पनि शिबको पुजा गरे सरह नै भक्तहरुले आशीर्बाद पाँउन सक्छन ।
जनकपुरको गिरीनारी कुटिमा भगबान शिबको अभुतपूर्व लिङ्ग छ। त्याँहा शिबको एक जोडा लिङ्ग हेर्न मिल्छ, जुन अलौकिक नै हो, तर दुर्भाग्यबस उक्त मन्दिर अहिले गाँजा, चरस खानेहरुको अड्डा बनेको छ। धनुषा जिल्लाको देबपुरा गाँउमा अबस्थित बाबा बौवेश्वरनाथ मन्दिरमा हरेक बर्ष महाशिवरात्रिको दिन शिब-पार्वती बिबाह महोत्सव मनाईन्छ। रात्रि जागरणमा बसेर शिब-पार्वतीको बिबाह बैदिक मन्त्र अनुशार गरिन्छ र रुद्र अभिषेक पुजा पनि त्याँहा गरिन्छ, जुन मिथिलाञ्चलमा कहिकतै गरिन्न। पं. बौवेलाल झाको स्मृतीमा स्थापित सो मंदिर श्रीमति मोती झाको व्यक्तिगत कोषबाट निर्माण गरिएको हो।यहाँ कुनै आधुनिक्ता, हाईफाई नअपनाई भगबान शिबको अराधना हामी बैदिक परमपरा अनुशार गर्छौ, मोती झाले बताईन।अलि दु:खको कुरो के छ भने हाम्रो समाजमा आधुनिक्ताको आडमा बैदिक संस्कारलाई बिर्षिदैछ। स्मरणिय रहोस संस्कृतको षडदर्शन मध्ये पाँच दर्शनको उत्पति मिथिलामै भएको हो।त्यसैले भगबान शिबको अराधना सबसे बढि मिथिलामै बैदिक परम्परा अनुशार गरिनु पर्ने हो, मिथिला संस्कृति अनुशार गर्नुपर्ने हो तर दुर्भाग्यबस त्यसमा पनि कमि आएको छ।मिथिलामा भगबान शिबको स्तुति गरिने श्रधालाई यी गितका अंशले प्रस्ट पार्छ: हे नाथ छि अनाथे वरदय करु सनाथे, नमो बिनम्र स्वरमे कल जोडि दुनु हाथेत्यसैले हे युवाबर्ग आफ्नो बिराट संस्कृति रमाउने तर्फ लागौ, यो पाश्चात्य संस्कृति अपनाउँदैमा तपाई शिक्षित कहलाउँनुहुन्न। मिथिला संस्कृतिसँग साक्षात्कार होऔ, हाम्रो यो संस्कृति संसारको सबसे धनि संस्कृति हो।
पुर्वीय दर्शनमा वा  देवशास्त्रमा  शिव एक विलक्षण देव हुन, जसको आदि र अन्त को निश्चित ब्याख्या छैन। उनिसँग धन-ऐश्वर्यको अक्षय भंडार छ तर आफ्नो लागि एक आवास छैन। मैथिलीमा बडो प्रसिद्ध गित छ: अरजी-अरजी शिब केकरा दै छि, घरमे किछु नै देखैछि यौशिव अर्धनारीश्वर भएर पनि कामवासनाबाट सर्वथा शून्य छन्। आफ्नो  आठ शक्तिबाट  पूरै ब्राहृांडमाथि शासन गरे पनि उनि श्मशानवासी हुन, उनको घर छैन, उनि मेरा श्रधालुहरु एक सुरक्षित छाना मुनि बसेको देख्दै खुशी छन।उनलाई आफू भन्दा पनि आफ्नो श्रधालु प्यारो छ, आफ्नो भक्त प्यारो छ। शिव यति सरल छन् कि पत्र (पात) वा बेलपत्र, पुष्प र जल अर्पणले  मात्रै प्रसन्न भईहाल्छन्। त्यसैले उनि 'आशुतोष' को नामले पनि प्रसिद्ध छन्।
हिन्दु धर्म, दर्शन, संस्कृति, तन्त्र- मन्त्र, गीत, संगीत यहाँ सम्म  कि व्याकरण शास्त्र  पनि शिव तत्वको गुरुत्वाकर्षणले प्रभावित नभईकन अस्तित्वहिन ठानिन्छ। कहिले  नटराजको रूपमा त कहीले महेश्वर-सूत्रको रूपमा, कहिले बिद्यापतिको रुपमा त कहिले भगबान रामको रुपमा, कहिले पतञ्जलीको रुपमा, त कहिले बेद दर्शनका पिताको रुपमा,  शिव ज्ञान-विज्ञानको पनि अधिपति देव बनेका छन्।
भागवतपुराणको कथन  अनुशार देव र दानव एक-अर्काको ज्यान मार्न जब ललायित थिए तब कालकूट विषपान गरेर भगवान शिवले प्रजा-कल्याणको महान कार्य गरे।'समुद्र मन्थनबाट निस्केका कालकूट विषलाई भगवान शंकरले ग्रहन गरे र अमृत अन्य देवताहरुलाई दिए। हाम्रो देशका नेताहरुको पनि  यहीं नै कर्तव्य हो कि उत्तम वस्तु राष्ट्रका जनतालाई दिई आफ्नो लागि परिश्रम र त्याग तथा समाजका सबै बिघ्न-बाधाहरुलाई आफ्नो भागमा राख्नु पर्ने हो। तर दुर्भाग्यबस हाम्रा मधेशबादी दलका नेताहरु विषका भाग मधेशी समुदायलाई दिन्छन् र अमृतको अपव्याख्या घुस, भ्रस्टाचारको रुपमा ठुलो धनराशी आफ्नो भागमा राख्छन। हे शिब मधेशका गद्दार नेताहरुको सर्वनाश गर !
शिव हिन्दु संस्कृतिको प्रेरक देव हुन।भारतको उत्तरमा कैलाश, अमरनाथ, केदारनाथ भएर दक्षिणमा कन्या कुमारी तथा सेतुबन्ध रामेश्वरसम्म, पूर्वमा असाम, पश्चिममा द्वारका सम्म शिव आराधनाको ऐतिहासिक अवशेष प्राप्त हुन्छ।नेपालमा स्व-स्थापित शिब लिङ्ग महोत्तरीको जलेश्वरमा छ।जलेश्वर, जनकपुर, धनुषा, बिरगन्ज, काठमान्डुलगायत नेपालका सबै जिल्लामा भगबान शिबको बिशाल मन्दिरहरु स्थापित छन्। बिश्वका सर्बाधिक ठुलो शिबजीको मुर्ती काभ्रे जिल्लाको साङ्गामा छ, जहाँ प्रत्येक दिन हजारौं श्रधालुहरुको ठुलै भिड लाग्छ। साङ्गामा शिबरात्रिको दिन जलेश्वर जस्तै लाखौ श्रधालुको जमघट हुन्छ, पुजा-दर्शनका लागि।
धर्म, संस्कृति तथा सामाजिक उत्सव-महोत्सवमा पनि महादेव शिव, उनको  अद्र्धांगिनी पार्वती, पुत्र गणेश र कार्तिकेयलगायत सम्पुर्ण शिव परिवारको वर्चस्व नक्षत्रमै पुग्छ। शिवपुत्र गणेशको त कुरै नगरौ, उनको पुजा नभई अन्य कुनै पुजा सफल नै मानिन्न। अत: उनलाई आदि-पुजक पनि भन्दा हुन्छ। यस्ता प्रयासबाट सहज अनुमान लगाउन सकिन्छ कि मिथिलामा भगबान शिबको पुजा आदिकालदेखि नै गरिदै आएको छ।
(जिवेश झा
द एक्सक्लुसिब विक्ली का लागि)
प्रकाशित: १९ फेव्रुवरी २०१२

2 comments:

  1. अति सुन्दर अछि..!its quiet knowledgeable and of course research based.

    ReplyDelete
    Replies
    1. Thanks dear, Swatantra. Plz keep on commenting and give some suggestions too.

      Delete