Wednesday, April 04, 2012

नव बर्ष विक्रम संवत 2069 को हार्दिक मंग्लमय शुभकामना


पाश्चात्य देशहरुको वैश्विकरण, भुमन्डलिकरण वा “अंग्रेजी हुकुमत(हेजेमोनी र सांस्कृतिक प्रभुत्ववाद)” को बढदो प्रभावका बावजूद पनि आज बच्चाहरुको नामाकरण,  विवाह मुहुर्त, गृह प्रवेश र व्यापार प्रारम्भ गर्ने कुरा होस हामी एक कुशल  पंडितसँग  शुभ मुहूर्त वा शुभ साईतको बारेमा जानकारी लिई त्यसै अनुरुप काम गर्ने गर्छौं।यी त भए आम जनजीबनका शिलशिलेबार प्रयासहरु, राष्ट्रिय-अंतर्रास्ट्रिय स्तरमा  देशका ठुल-ठुला  राजनेता पनि सत्तासीन हुनका लागि कुशल दिन वा राम्रो मुहूर्तको प्रतिक्षा गर्दछन्।र, सबैभन्दा महत्वपुर्ण कुरो यो छ कि यस्ता सबै प्रयासहरु विशुध्द रूपले वैदिक परम्परा अनुशार  विक्रम संवतकै पंचांगमा आधारित हुन्छन्। हिन्दु वैदिक मान्यतानुसार कुनै पनि कार्य यदि शुभ मुहूर्तका दिन प्रारम्भ गरे भने त्यसमा सफलता पाउने सुनिश्चितता हुन्छ। त्यसै पनि वैदिक  संस्कृति श्रेष्ठताको उपासक हो।समाजका ती प्रयास, संस्कृति र परम्पराहरु जसले समाजका हरेक वर्ग, जातका प्राणिलाई एकै ठाँउमा ल्याई “कन्भर्ज” गर्छ र हर्ष-उल्लास जगाउने एक कुशल संस्कृति हो र उसले  एक सही दिशा निर्देश पनि गर्ने भएकाले हामी ती सबलाई उत्सवको रूपमा मान्छौं। राष्ट्रिय स्वाभिमान र देश प्रेमको भावना जगाउने अनेकौ प्रसंग चैत्र महिनाको शुक्ल पक्ष प्रतिपदाबाटै एक वा अर्को रुपले संबन्धित छ।बैशाख १ गते त्यो दिन हो जुन दिनबाट नव बर्ष प्रारम्भ हुन्छ।बैशाख १ गते बिभिन्न रुपले महत्व राख्दछ।
ऐतिहासिक र धार्मिक महत्व:
1) सृष्टि रचनाको पहिलो दिन : आजबाट एक अरब 97 करोड़, 39 लाख 49 हजार 110 वर्ष पूर्व यसै दिनको सूर्योदय हुनासाथ ब्रह्माजीले जगत रचना गरेका थिए।
2) जानकी पति रामको राज्याभिषेक दिवस : मिथिलाका ज्वाँई रामले लंकामाथि विजय प्राप्त गरे पशच्यात अयोध्या फर्किए पछि आजकै दिन राज्याभिषेकका लागि चुनिएका थिए।
3) बसन्त नवरात्र स्थापना(चैती दुर्गा) : चैती नवरात्राको अन्त्य हुनासाथ अर्को नव बर्षको प्रारम्भ शक्ति र भक्तिको नौ दिन अर्थात्, नवरात्र स्थापनाको पहोलो दिन पनि यहि नै हो।रामको जन्मदिन रामनवमीभन्दा पूर्व मनाईने  नौ दिने उत्सवको प्रथम दिन।
४) बैशाख स्नान: यसै दिनबाट बैशाख स्नान प्रारम्भ हुन्छ।
५) आशीर्वाद प्रदान: सुर्योदय पूर्व आशिर्वादको रुपमा आफूभन्दा कान्छोलाई बुजुर्गहरुले आशिर्वादको रुपमा शीषमा बासी  पानी हाल्ने परम्परा मिथिलामा मात्र छ।भन्नुको अर्थ के हो भने आउदो ग्रिस्म ऋतुको गर्मीको कहर हाम्रो परिवारमा नलागोस भन्ने कामनाका साथ आशिर्वाद रुपी चिसो पानी शिषमा राख्ने गरिन्छ।
६) गुरू अंगददेवको प्रकटोत्सव : सिख (भारतको पंजाब प्रान्तका एक जाती) परंपराको द्वितीय गुरूको जन्मदिवस।
७) आर्य समाज स्थापना दिवस : समाजलाई श्रेष्ठ (आर्य) मार्गमा गुडाउनका लागि स्वामी दयानंद सरस्वतीले यसै दिनलाई आर्य समाज स्थापना दिवसको रुपमा चुने।
८) संत झूलेलाल जन्म दिवस : सिंध प्रान्त (पाकिस्तान) को प्रसिध्द समाज रक्षक वरूणावतार संत झूलेलाल यसै दिन प्रकट भएका थिए।
९) शालिवाहन संवत्सरको प्रारंभ दिवस : विक्रमादित्य जस्तै शालिवाहनले  हूणोंलाई परास्त गर्दै दक्षिण भारतमा श्रेष्ठतम राज्य स्थापित गरेको दिन।
१०) युगाब्द संवत्सरको प्रथम दिन : 5111 वर्ष पूर्व युधिष्ठिरको राज्याभिषेक पनि यसै दिन गरिएको थियो।
११) लक्ष्मी पति बिष्णुको अत्यन्त प्रिय दिन
१२) बैशाख महिनाममै जांघव ऋषिले गंगा नदिलाई नै निलसिसकेका थिए र आफ्नो दाँया कानबाट पुन: गंगाजीलाई यथास्थितीमा ल्याए र त्यसैले गंगालाई “जांघवी” को नाम पनि दिईएको छ।त्यसैले गंगा नदिमा सर्वश्रेस्ट र महिनामा बैशाख सर्वश्रेस्ठ मानिन्छ।
१३) “यथा ते माधवो मासो बल्लभो मधुशुदन, प्राथ: स्नानेन मेतस्मिन् फलद; पाप हाभव ।।” बैशाख महिनामा प्राथ: स्नान गरे अस्वमेघ यञको अनुस्ठानभन्दा पनि ठुलो पुण्य पाउने, पाप-मनोविकार अंत्य हुने र पुरुषार्थ चतुस्त्य प्राप्त गर्न पनि सकिन्छ। स्मरणिय रहोस कलयुग पाप र घृणामै लिप्त भएको कारण अस्वमेघ यज्ञको अनुस्ठान संभव छैन ।
१४) बैशाखको अर्को नाम माधव पनि हो, यो नामाकरण नारदद्वारा भएको र उनले सर्वप्रथम यो कुराको जानकारी अमरिष ऋषिलाई दिएका थिए।
१५) बैशाख पुर्णिमाको दिन गौतम बुद्ध अर्थात बिष्णु भगवानको दसौं अवतारको जन्म र मृत्यु पनि त्यहि दिनमै भएको थियो। बुद्धले संसारलाई अहिंसाको पथ देखाए र एक दर्शन अघि सारेर स्वर्ग प्रस्थान गरे।
१६) रामको बनवासको बिषयमा भरतजीलेको आफ्नो संलगन्ता नरहेको कुरा सपथ लिएका थिए कि यदि रामको बनबासमा मेरो अलिकती पनि सहमति छ भने बैशाख महिनामा मलाई स्नान-दानको पुन्य प्राप्त नहोस। यो सपथ बैशाख महिनाको स्नानमा केन्द्रित थियो।
प्राकृतिक महत्व:
पतझड समाप्ति पछि वसंत ऋतुको आवागमन वर्ष प्रतिपदाबाटै हुन्छ। शरद ऋतुको प्रस्थान र ग्रीष्मको आवागमन पूर्व वसंत ऋतु आफ्नो अंतिम वा चरम समयमा हुन्छ।किसानले उब्जाएका बाली पाक्ने  प्रारंभ दिन अर्थात  किसानको मिहिनेतको फल सुनिश्चित भएको दिनको रुपमा पनि यस दिनलाई लिईन्छ।
आघ्यात्मिक महत्व:
हाम्रा ऋषि-मुनीले यस दिनको आध्यात्मिक महत्वकै कारण  वर्ष प्रतिपदादेखि नै  नौ दिन सम्म शुध्द-सात्विक जीवन व्यतित गरेर शक्तिको उपासना तथा निर्धन र दीन दु:खीहरुलाई सेवा हेतु कार्य गर्न आम जनमानसलाई प्रेरित गरे। प्रात: काल: यज्ञ, अपराह्न: भोकाएकाहरुलाई भोजन तथा साझ: रात्रि शक्तिको उपासना र अराधनाको विधान छ।असंख्य भक्तजनले पूरै नौ दिनसम्म बिना कुनै प्रकारका अन्न ग्रहण गरेर वर्षभरीको लागि एक असीम शक्तिको संचय गर्छन, जसले उनिहरुलाई बर्षैभरी सुरक्षित र संयमित राख्दछ। अष्टमी वा नवमींको दिन दुर्गा माताको स्वरूप नौ कन्या (अविवाहित महिला) हरुलाई र एक बालक (किशोर)लाई पूजा गरि आदर पूर्वक ब्राह्मन भोजन गराएर दक्षिणा दिने प्रचलन पनि छ।
वैज्ञानिक महत्व:
विश्वमा सौर्य मण्डलका ग्रह व नक्षत्रको चालमा  निरन्तर बदलाव आउने भएकाले उनको  स्थितिमै आधारित भएर दिन, हप्ता,  महीना, सालको बुझाई र उसको सूक्ष्मतम सवरुपलाई घन्टा, पलको रुपमा बुझिन्छ। यसमा खगोलीय पिण्डहरुको गतिलाई आधार मानिएको छ।वैदिक गुरुहरुले पूरै 360 डिग्रीलाई 12 भागमा  बांडे जसलाई राशिको नाम दिईयो। प्रत्येक राशि तीस डिग्रीको हुन्छ, जसको प्रथम  नाम मेष हो। अंग्रेजी वा पाश्चात्य मान्यता अनुशार नव वर्ष एक जनवरीबाट प्रारम्भ हुन्छ, जसको सम्बन्ध ईसाई जगतसँग छ। यो प्रचलन  रोमको सम्राट जूलियस सीजरद्वारा ईसाको जन्मको तीन वर्षपछि प्रचलनमा ल्याए। भारतमा ईस्वी सम्वत मनाईने प्रचलन  अग्रेंजहरुले 1752 मा भित्रयाए। अधिकांश राष्ट्रहरुमा  ईसाई धर्माबल्मबीहरुको बाहुल्यता र अंग्रेजहरुको बिस्तारबादी शासन कायम रहेको हुनाले ईसवी संबतले विश्वव्यापी प्रभुत्व पायो। 1752भन्दा पहिला ईस्वी सन् 25 मार्चबाट  शुरू हुन्थे भने 18औं शताब्दीबाट बर्षको शुरुवात एक जनवरीबाट गरिने प्रथा कायम गरियो र सो प्रथाले एक संस्थागत संस्कृतिको मान्यता वैश्विक रुपले पाएको छ। ईस्वी कलेण्डरका  महीनाहरुको नाममा प्रथम छौ महिना: जनवरीबाट जूनसम्म रोमन भगवानहरु- जोनस, मार्स र मया इत्यादि को नामबाट नामाकरण गरिएको छ भने जुलाई र अगस्त रोमको सम्राट जूलियस सीजर तथा उनको पुत्र आगस्टसको नाममा तथा सेप्टेम्बरबाट डिसेम्बरसम्म रोमन संवतको महिनाहरुको आधारमा नामाकरण गरिए।जुलाई र अगस्त, सम्राट(राजा) हरुको नामबाट नामाकरण गरिएका कारण  दुबै महिना ३१ दिनको हुने ब्यबस्थालाई संस्थागत गरियो।हुन त महिना कति दिनको हुने भन्ने कुरा नक्षत्रीय स्थिती र चालको आधारमा हुनुपर्ने हो तर पश्चिमाहरुले आफ्नो अधिनायकबाद लाद्नको लागि तर्कहिन तरिकाले महिनाहरुको दिन घटबढ गरे।
ग्रेगेरियन कलेण्डरको काल गणना मात्र दुई हजार वर्षको अती अल्प समयको ईतिहासलाई दर्शाउँछ। जबकी यूनानको काल गणनाको ईतिहास 3581 वर्षको, रोमको 2758 वर्षको, यहूदीको 5769 वर्षको , मिश्रको 28672 वर्षको, पारसीको 189976 वर्षको तथा चीनको 96002306 वर्षको  पुरानो ईतिहाश छ। यी सब भन्दा पृथक हिन्दु वैदिक काल गणनाको कुरो गर्दा हाम्रा ज्योतिष बिज्ञानको अनुशार  पृथ्वीको आयु एक अरब 97 करोड़, 39 लाख 49 हजार 110 वर्षको छ र हाम्रो वैदिक परंपराको काल गणना सबैभन्दा पुरानो छ। जुन प्रकारले ईस्वी सम्वतको सम्बन्ध ईसा जगतसँग छ, त्यसै अनुरुप हिजरी सम्वतको सम्बन्ध मुस्लिम जगत र हजरत मुहम्मद साहेबसँग छ। तर विक्रम सम्वतको सम्बन्ध कुनै पनि धर्म बिशेषमा मात्र केन्द्रित छैन।यसमा त  पुरै विश्वको प्रकृति, खगोल सिद्यान्त, ब्रह्माण्डका ग्रहहरु र नक्षत्रहरुको अनुशार बैज्ञानिक रुपले  महिनाहरुको नामाकरण गरिएका छन्। ब्रह्माण्डको सबभन्दा  पुरानो ग्रंथ वेदमा, र यजुर्वेदको 27 र 30 औं अध्यायमा विस्तार रुपले हिन्दु महिनाहरुको बर्णन गरिएका छन्। साथै बिक्रम संबतका महिनाहरुले विश्व बंधुत्व निर्माण गर्ने र प्रत्येक मानवमा सहृदयताको भावना जागरुक गर्ने बिषयहरुलाई प्रधानताका साथ अघि सारेको छ।के एक जनवरीको ईतिहास त्यस्तो लामो र बृहत छ त? के १ जनवरीले विश्वबंधुत्व र सहृदयताको वकालत गरेको छ त? भारतवर्षको ग्रंथ र दर्शनमा कहिंकतै ईश्वी संबतको चर्चा छ? यदि यी सबै सवालहरु अनुउत्तरित छन, भने भारतबर्षका समाजले यो ईश्वी संबत किन मान्ने? पाश्चात्यहरुले ईश्वी संवतको वकालत गर्नु गर्वको बिषय हो भने पुर्वीय जगतको लागि गुलामीको बिषय हो।रास्ट्रिय स्वाभिमान र गरिमाको पनि रक्षा गर्न नसक्ने संस्कृति मनाउनु भनेको आफ्नो अमुल्य समय खेर फाल्नु हो वा उग्र आधुनिक्ताबादको अधिनायकबाद लाद्न खोज्नु हो।  
नव वर्षको पूर्व संध्यामा दीयो बालेर र साँझ शंख फुकेर नव वर्षको स्वागत र गत बर्षको बिदाइ गर्नु पर्छ।शंखको ध्वनिले सम्पुर्ण समाजमा मंगल (शुभ) कार्य हुने संदेश दिन्छ।होर्डिंग बोर्ड, एस.एम.एस. , ब्यानर, बधाई पत्र, ई-मेल, फेशबुक, तथा अन्य सामाजिक सञ्जाललगायतका माध्यमबाट नव वर्षको बधाई र शुभकामना प्रेषित गरौं।नव वर्षको दिनबाट नौ दिनसम्म श्री राम महोत्सव मनाईन्छ जसको अंतिम दिन (समापन) लाई श्री राम नवमी भनिन्छ र हिन्दु समाजले भव्यताका साथ भगवान रामको पुजा पनि उक्त दिनमा गर्छन्।
(साभार: “द एक्सक्लुसिभ वीक्लि”)
*****


Tuesday, April 03, 2012

पत्रकारिताको अत्याधुनिक र क्रान्तिकारी स्वरूप – ‘ई जर्नलिज्म’

जिवेश झा
‘जे  बोलनु उचित समयमा बोल्नु ,  सोचेर समझेर तार्किक बोलनु‘ वाचिक परम्पराको यसै पाठबाट पत्रकारिताको पहिलो संवाददाता नारद, आद्य संपादक वेद व्यास, सर्वप्रथम प्रत्यक्ष प्रसारण गर्ने  महाभारतको संजय आदिबाट प्रारंभ भएको पत्रकारिताको स्वरूपमा क्रमशः परिवर्तन हुँदै आएको छ।अर्को तर्फ मानवईतर पक्षको कुरा गर्ने हो भने चरा-चुरुँगीले पनि प्रापकसम्म सुचना चिठीको माध्यमबाट पुर्याउने गर्दथे।मिथिलामा त सुचना आदान-प्रदान गर्ने माध्यमको रुपमा “संबदिया” लाई लिईन्थ्यो। संबदिया भनेको  त्यस्ता मान्छे हुन, जसले एक ठाँउबाट अर्को ठाँउसम्म सुचना पुर्याउने काम गर्छन्। चाणक्यको अर्थशास्त्र, मुगलकालको वाक्यानवीस तथा प्रथम स्वातंत्र्य समर (१८५७) को कालबाट “संवदिया” हुँदै पत्रकारिता आफ्नो  वर्तमान अत्याधुनिक र क्रांतिकारी स्वरूप ‘ई जर्नलिज्म’ सम्म आईपुगेको छ। पत्रकारिताको क्रान्ति भनिने  यो ‘ई जर्नलिज्म’ आखिर के हो त?  यो क्रान्तिकारी स्वरुपबाट आजका पढेलेखेका जमातहरु राम्ररी नै परिचित छन्।अडियो, भिडियो, टेक्स्ट, फोटो आदि सबै अपलोड गर्न मिल्ने एकल माध्यम बनेको छ ईन्टरनेट।
हामी सबैको जीवनशैली ‘ई लाइफ’ तिर अग्रसर हुँदै छ र ‘ई युग’ मा ‘ई जर्नलिज्म’ को महत्व बढनु स्वाभाविक पनि हो। त्यसै पनि सूचना र संचारको  आधुनिकतम र सुपरफास्ट समाचार दिने माध्यमको  पर्याय बन्दैछ ‘ई जर्नलिज्म’। ई एजुकेशन, ई गवर्नेंस,ई कमर्स, ई बैंकिंग जस्तै ‘ई जर्नलिज्म’ पनि आजभोली सर्वाधिक रुचिकर शब्द बनेको छ।  “ई” को अर्थ ईलेक्ट्रोनिक हो। हाम्रो जनजीवनको सुख-सुविधाका शिलसिलेवार प्रयासहरुलाई सार्थक तुल्याउन “ई” नामक चरो  अपरिहार्य बन्न पुगेको छ। रेक्टिफिकेशन, एम्प्लीफिकेशन, नियंत्रण, उत्पादन आदिको रूपमा ईलेक्ट्रोनिक दुनियां सञ्चार, मनोरंजन, प्रतिरक्षा,चिकित्सा, उद्योग, अंतरिक्ष इत्यादि जीवनका सबै क्षेत्रहरुमा दह्रो प्रभावका साथै उपयोगी सिद्ध भएको छ।अर्को तर्फ पत्रकारिता त आफ्नो सुचना प्रवाहको गतीको लागि  प्रसिद्ध छ।सायद त्यसैले ई-जर्नालिज्मलाई “जर्नालिज्म ईन हरी” भनिएको हो। जुन माध्यम  जति शीघ्र सूचना प्रवाह गर्छ, त्यति  सफल ठानिन्छ।त्यसैले ईलेक्ट्रोनिक्स आधारित अहिले सम्मका  सबैभन्दा फास्ट र सर्वत्र उपलब्ध पत्रकारिताको एकल माध्यम -’ई जर्नलिज्म’ हो।’ई जर्नलिज्म’लाई  सुविधानुसार बेब-मिडिया र सायबर मिडिया पनि भनिन्छ।
सूचना क्रान्ति, टेक्नोलोजी, खोज र आविष्कार तथा प्रत्येक दिनको बदलिँदो स्वरुप र प्रत्येक दिनलाई एक नयाँ दिनको रुपमा ठान्ने आजको ई-वर्ल्डले ‘ई जर्नलिज्म’ को दायरा र परिधीलाई थप बिस्तार गरिदिएको छ।वैस्विकरणको रफतारसँगै  ज्ञान, दर्शन, अध्यात्म र रचनात्मक सृजनालाई प्रकाशन र आर्जन गर्नका लागि  अत्याधुनिक प्रविधिको तालमेलबाट  पत्रकारिता जगतले  क्रांतिकारी स्वरुप ग्रहन गरेको छ।प्रत्येक सेकेन्डमा संसारका घटनाहरुबाट सुसुचित बनाउने सहज साधन बन्न गएको छ -’ई जर्नलिज्म’। सूचनामा शक्ति हुन्छ भन्ने कुरा सर्वकालिक सत्य हो।आज इंटरनेटको विस्तारसँगै यो शक्ति ठुलो संख्यामा न्यूज पोर्टल, बेबसाईट, ब्लॉग, सोशल नेटवर्किंग साईट आदिको बिकासले यसको अस्तित्वलाई थप मजबुत पारेको छ।त्यतिमा मात्रै सीमित नभएर  आज पत्र-पत्रिका, रेडियो र समाचार च्यानलहरुले पनि  आफ्नो ईटरनेट संस्करण राख्ने होडबाजी चलेको छ। प्राय: प्रत्येक समाचारको मुनी पाठकलाई आफ्नो प्रतिक्रिया दिन कमेन्ट बक्स राखिएको हुन्छ, जसले ई-जर्नालिज्मलाई थप “इनट्र्याक्टिभ” बनाईदिएको छ।त्यसैले ई-जर्नालिज्मलाई “नन लिनियर” पत्रकारिताको माध्यमको रुपमा लिईन्छ। अर्थात ईन्टरनेटबाट गरिने पत्रकारितामा पाठकलाई पनि उतिक्कै शक्तिशाली ठानिन्छ।  आज प्रत्येक सानोदेखि ठुलो कार्यालयहरुमा इंटरनेट कनेक्शन उपलब्ध छन। डाउनलोड गर्न मिल्ने  र नागरिक पत्रकारिताको नाममा  समाचार अपलोड गर्न सकिने  सुविधाले ‘ई जर्नलिज्म’ को दायरालाई थप फराकिलो तथा अन्तर्क्रियात्मक बनाईदिएको छ।
पत्रकारिता जगतमा भईरहेको बिकास र बदलावबाट नेपाल पनि  अछूतो छैन। नागरिक पत्रकारिताको माध्यमबाट सामान्य नागरिकले पनि आफूसँग भएको सुचना ईन्टरनेटमा अपलोड गरेर ई-सुचना क्रान्तिलाई थप मलजल प्रदान गरिरहेका छन।र, अब सामान्य पाठकले सुचना संप्रेशन र प्रकाशनमा सार्थक र सक्रिय भागेदारी जनाईराखेका छन्। यो क्षेत्रमा अझै पनि धेरै परिवर्तनको अपेक्षा गरिएको छ। यसको व्यापक बिस्तार र बहुआयामी हुनुले सूचना संप्रेशन,  साज-सज्जा र आर्कषक प्रस्तुतीकरणको कामका लागि ठुलो  संख्यामा प्रशिक्षित र अनुभवी मिडियाकर्मिहरुको आवश्यकता बढ्नेछ।ईन्टरनेटको जडो मजबुत हुँदै जानुले  पत्रकारिताको प्रशिक्षण, प्राध्यापन र एक्याडेमिक कोर्सहरुमा पनि आबश्यक्ता अनुशार परिबर्तन गरिने प्रयासहरु प्रारम्भ भईसकेका छन्। । अब त “नेट पत्रकार” भन्ने शब्द जनमानसमा सामान्य भइसकेको छ । पत्रकारहरु डिजीटल हुँदै जानुले कलम र कागजबाट गरिने पत्रकारिता, अर्थात पत्रिकाहरु प्रतिको मोह घटदै गएको बिभिन्न प्रतिवेदन र अनुसँधानबाट सिद्ध भएको छ। सूचनालाई  “रिसीभर”(पाठक\श्रोता) सम्म पुर्याउनका लागि एक निश्चित  संदर्भ अब अपरिहार्य रहेन्न।
अब त ‘ई जर्नलिज्म’ को पढाईका लागि ‘ई यूनिभर्सिटी’ को अबधारणा पनि आईसकेको छ र कतिपय विश्वविद्यालयले दुर शिक्षाका कोर्सहरुलाई ईन्टर्नेटको माध्यमबाटै अध्ययन-अध्यापन गराईरहेका छन्। यस प्रकारका  कतियौं  बेबसाईटहरु धेरै पहिलादेखि नै हामी माझ ऊपल्बध छन्। आजको सुचनाको युगमा ‘माध्यम नै संदेश हो’(Medium is Message)  नामक आफ्नो  पुस्तकमा  प्रसिध्द मिडिया विशेषज्ञ “मार्शल मैक्लूहन”ले  “सूचना भन्दा अधिक महत्वपूर्ण सूचना यंत्र हो” (Technology is more important than Message) भन्ने शुक्तिले आफ्नो  प्रासंगिक्ता र समसामयिकतालाई वर्तमानमा पनि श्रेस्ठत्म रुपले साबित गरिरहेको छ।
(साभार: “द एक्सक्लुसिभ वीक्लि”)

Friday, March 30, 2012

रामनवमीबाट रामको आदर्श र पुरुषार्थलाई जीवनमा उतारौं


जिवेश झा-
मिथिला पर्वहरुको स्थल हो। यहाँको  दिनचर्यामा नै पर्व-उत्सवहरुले राम्रै जड गाडेको छ।यस्तै एक पर्व हो रामनवमी। रामनवमी, भगवान रामको  स्‍मृतिमै  समर्पित छ।  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिनमा भगवान श्री रामका साथै शक्ति रुपी माता नव दुर्गा देवीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरि जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाईंन्छ । दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा शक्तिरुपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ। हिन्दू धर्मावलम्बीहरु रामनवमीका दिन बिहानै नुहाईधुवाई गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन्। असुरहरुको संहार गर्नका लागि  भगवान विष्णुले  राम रूपी अवतारमा  पृथ्वीमा जन्म लिए र आजीवन  मर्यादाको पालन गरेकाले उनलाई  मर्यादा-पुरुषोत्तम भनिन्छ।
असत्यमाथि सत्यको विजय भएको कारणले भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकी मन्दिरमा मेला भर्न विश्वका  लाखौं हिन्दु भक्तजनहरु आउने गर्दछन् । राम मन्दिरमा मिथिलानीहरुले भजन किर्तन गरेर रामको जन्मोत्सवलाई स्वागत गर्दै दश दिन अगाडिदेखि नै बधाईरुपी गीत (सोहर खेलौना) गाउने गर्दछन्। अयोध्यामा रामनवमीको दिनमा हर्षोल्लास पूर्वक भगवान राम, सीता, लक्ष्मण र राम-भक्त हनुमानको रथयात्रा निकालिन्छ, जसमा लाखौं श्रद्धालुहरु  भाग लिन्छन्। आज पनि मर्यादा पुरुषोत्तम रामको जन्मोत्सव  धूमधामसँग त मनाईन्छ नै तर उनको आदर्शहरुलाई व्यबहारिक जीवनमा लगु गरिन्न। भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ गर्ने, वाल्मीकीय रामायण,  तुलसीकृत  रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । विनम्र र सौम्य प्रवृतिका प्रतीक मर्यादा पुरुषोत्तम भगवान श्रीरामको  जन्मदिनको   शुभ अवसरमा  चैत्र शुक्ल महिनाको  नवमी तिथिलाइ  रामनवमी जस्तो विशेष पर्व मनाईन्छ।
श्रीरामले मिथिलाका राजा जनक नन्दनी जानकीसँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानवजातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएका छन्।अयोध्याका राजकुमार भए पनि भगवान रामले आफ्नो  पिताको बचनलाई सत प्रतिशत पालना गरे र संपूर्ण वैभवलाई  त्यागी 14 वर्षका लागि  वनबास प्रस्थान गरे।तर बर्तमानमा सम्पतिका लागि पुत्रले आफ्ना माता-पीतालाई अपमान गर्ने र आफ्नो परम दुश्मन ठान्ने गरेको कुरा नौलो होईन्।रामनवमी र जन्माष्टमी त उल्लासपूर्वक मनाईन्छ नै तर उक्त पर्वको संदेशलाई ब्यवहारमा अपनाईदैन।
श्रीकृष्णद्वारा अर्जुनलाई दिईएको गीता ज्ञान आज  एक ग्रंथमा मात्रै सीमित भएको छ, र मानवीय ब्यवहारमा एक झलक पनि हेर्न बिरलै छ। कलयुग गीता नेपालको संबिधान बनेको छ। यो गीता “घुस-भ्रस्टाचार मानव जीबनको प्रमुख आधार” भन्ने नाराले सुत्रित छ र  आजका कृस्ण ठान्ने पापी नेताहरुको ब्यवहारबाट यो शुक्ति सिद्ध हुन्छ। तुलसीदासजीले रामचरित मानसमा  भगवान रामको  जीवनलाई वर्णन गर्दै भनेका थिए कि श्रीराम प्रातः आफ्नो माता-पिताको चरण स्पर्श गर्दथे जबकि आज चरण स्पर्श त धेरै टाढाको कुरो हो, सन्तानले आमा-बुवासँग राम्रो मुखले कुरासम्म गर्दैन्न। परिस्थिति यो छ कि  महापुरुषहरुका  आदर्श ज्ञान  मात्र  टीभीका कथानक सिरिलय र किताबहरुमा  सिमित भएका छन्। नेताहरुले समेत  सत्ता हासिल गर्नका लागि  श्रीरामको आडमा आफ्नो भोट कमाउन चाहन्छन र समाजमा सम्प्रदायिक हिंसा भडकाउन पनि उद्दत छन्। यदि साँचो अर्थमा रामको आराधना गर्न चाहन्छौं भने “राम राज्य” स्थापित गर्नुपर्छ र तब मात्र "जय श्रीराम" को उच्चारण गर्नका लागि “फिट” ठानिन्छौं र अंतत: उनको आदर्श र विचारलाई आत्मसात गरि समाजमा सहृदयता र एकत्व ल्याउन सक्छौं।रामनवमीमा यो मंत्र उच्चारण गरौं-
आदि राम तपोवनादि गमनं, हत्वा मृगं कांचनम्।
वैदीहीहरणं जटायुमरणं, सुग्रीवसंभाषणम्।।
बालीनिर्दलनं समुद्रतरणं, लंकापुरीदाहनम्।
पश्चाद् रावण कुम्भकर्ण हननम्, एतद्धि रामायणम्।।
आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अब सँघिय राज्य होइन राम राज्य चाहिएको छ | राम आउनै पर्छ र उनको आदर्श पनि | आजको राम नवमीले हामीलाइ रामको मर्यादा, आदर्श र चरित्रले परिपुन गरोस, यहि शुभकामना |

Sunday, March 04, 2012

जोगिराले समाजमा एकत्वको भावना जागृत गरुन् !.....


जिवेश झा
यो बर्षको जाडोले सम्पुर्ण मिथिलाबासी परेशान भए। सबैले  होलीको प्रतिक्षा बडो जोडसोडले गरिरहेका थिए।होली कतिखेर आँउने हो, र कतिखेर मौसम परिबर्तन हुने हो र  यो जाडोबाट राहत पाउने हो।प्रतिक्षाको समय अब गए र फाल्गुन आयो। जगतमा रंगहरुको पाबन श्रिङ्गार छ,  मिथिलाबासीमा मस्तीको “बहार” आएको छ र प्रत्येक अनुहारमा खुशियाली र रौनक हेर्न मिल्छ। बजारमा  निस्किए पसलहरुमा बिभिन्न प्रकारका रंगीन पिचकारिहरु हेर्न मिल्छन्। रातो, पहेलो, निलो, गुलाफी र हरियो रंगका अबीरले मनमोहक वातावरणमा मस्तीको संदेश दिईरहेको छ। होलीको यो रंग र मस्तीलाई रमाउनका लागि हिन्दु समाज एक बर्ष प्रतिक्षा गरिरहेको हुन्छ। होली रंगको पर्व त छ नै, साथै यो प्रेमको संदेश र भाईचारा (बंधुत्व) को संबाहक पनि हो। होलीलाई दर्जनौं नामले संबोधित गरिन्छ। दुलन्दि होली, रङ्गपञ्चमी, बसन्त उत्सव, डोल पुर्णिमा, लठमार होली, होला मोहल्ला, कमन पन्डिगाई, र फागु पुर्णिमा नामले संसारभर होली प्रसिद्ध छ।यो नै एक पर्व हो जसले समाजमा एकत्वको भावना जागृत गरी सहृदयताको भाबना प्रत्येक मानवमा जगाँउछ।
हिन्दु समाजमा फागुन शुक्ल अष्टमी देखि पूर्णिमा सम्म आठ दिन होलाष्टक मनाउने संस्कृति छ।यो सँगै होली उत्सव मनाउने पाबन दिनको शुरु‌आत हुन्छ। होलीका दहनको तयारी पनि यहि दिनबाट सुरु हुन्छ। यो पर्वलाई नवसंवत्सर(नव बर्ष) को आगमन तथा वसंतागमनको उपलक्ष्यमा गरिएको यज्ञको रुपमा लिईन्छ। वैदिक कालमा यो होली  पर्वलाई नवान्नेष्टि यज्ञ भनिन्थ्यो। पुराणहरुको अनुसार यस्तो पनि मान्यता छ कि जब भगवान शंकरले आफ्नो क्रोधाग्निबाट कामदेवलाई भस्म गरिदिए, त्यति बेलादेखि नै होली पर्व मनाउने प्रचलन सुरु भयो।यसका साथै जैमिनीको पूर्व-मिमांसा, नारद पुराण, र भबिष्य पुराणमा पनि होलीको बिस्तृत बर्णन छ, जसले यो एक बैदिक पर्व हो भन्ने प्रस्ट्याउँछ।
सबसे बढि प्रचलित हिरण्यकश्यपको कथा हो, जसमा उनले आफ्नो पुत्र प्रहलादलाई जलाउनको ‌लागि आफ्नि बहिनी होलीकालाई बोलाँउछन्।सत्ययुगमा बिष्णुदेबका भक्त प्रहलादलाई मार्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरु बुन्दा पनि मार्न सकेन्न।त्यसपछि  हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी  होलिकालाई प्रहलाद्लाई काखमा लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भएकोले असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्वलाई भब्यताका साथ आदिकालदेखि नै मनाइने गरिएको हो। एक अर्को पौराणिक मान्यता अनुसार भगवान श्री कृष्ण श्यामस्वेत थिए र उनकी प्रेमिका राधा श्वेत वर्ण (गोरी) थिईन। कृष्णलाई आफू राधा जस्तो सुन्दर नभएको भान हुन्थ्यो, त्यसैले उनि सदैब राधासँग ईर्ष्या गर्दथे र आफ्नो आमा यशोदा कहाँ गई आफ्नो असन्तुष्टि पोख्थे। एक दिन यशोदाले श्री कृष्णलाई आफ्नो सबसे बढि मन पर्ने रंग राधाको गालामा लगाईदिन सुझाब दिईन। त्यसपछि त राधा कृष्णमय रंगले रंगिन भई राधा-कृष्ण अटुट प्रेम बन्धनमा बाँधिए।त्यसपछि होली पर्व मनाउने संस्कृतिले संस्थागत मान्यता पायो। आज पनि प्रेमी-प्रेमिकाहरुले राधा-कृष्णको जोडीलाई उद्याहरणिय मान्छन्।पौराणिक मत अनुशार फागुन पूर्णिमा– होलीको दिन जसले मन एकाग्र गरेर झूलामा झूल्दै भगवान विष्णुलाई सम्झन्छन्, उनि निश्चय नै मोक्ष प्राप्त गर्छन्।
होली पूजन पश्चात होलिका दहन गरिने परम्परा छ। यो दहन सदैव भद्रा (भदबा) लगन नहुने समयमा गरिन्छ। मान्यता अनुशार भद्रा लगनमा होलीका दहन गरे अशुभ परिणामहरु भित्रिन्छ, जस्तै देशमा विद्रोह, , हिंशा, अराजकता आदि। यसै प्रकार चतुर्दशी, प्रतिपदा अथवा दिनमा पनि होलिका दहन गर्ने विधान छैन। होलिका दहनको समयमा गहूँको बालालाई आगोमा भुट्नु पर्छ । एक मत अनुशार होलीका दहनको समयमा धानको बाला भुटेर घरमा यत्र-तत्र फाल्नुले  धन-ऐश्वर्यमा बृद्धि हुन्छ।अर्को तर्फ किसानहरुले लगाएको बिउ-बालीको पनि अपेक्षाकृत उत्पादन हुने मान्यता छ। होलीका दहन पश्चात त्यसबाट निस्केको खरानी-होली भस्म शरीरमा दले स्वस्थ र समृद्ध भइन्छ र घरमा शांति र प्रेमको वातावरण निर्माण हुन्छ। साथै एक-अर्काले होली भष्म एक-अर्कालाई दले आपसी सदभाव तथा भाइचारा अभिवृद्धि हने मान्यता पनि छ।
मिथिलामा होली
मैथिली समाजमा जोगिरा नामको गीत तथा भजन गाएर होलीकाको अन्त्य भएकोमा खुसीमा होली मनाइने गरिन्छ । रंगहरूसँगै होलीको दिन सामूहिक रूपमा जोगिरा गाउने र मनोरञ्जन लिने प्रचलन छ ।यस वर्षको होलीको जोगिराको मूल आशय समयमै संविधान निर्माण, शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने र मधेशलाई अधिकार सम्पन्न बनाई मधेशमैत्रि संबिधान बनाउने विषयहरू रहेका छन् । जोगिराले समाजका ब्याप्त  विकृतिमाथि पनि प्रहार गर्ने गर्दछ ।यी पङ्क्तिकारद्वारा रचित यो मैथिली मुक्तकले मिथिलामा खेलिने होलीको ब्याख्या गर्छ:
जखैन होरी के मौसम सजल रकेट के गती मे चलल पिचकारी
समाचार शीर्षक सभ भेल रंग गुलाल, जन-जन पौलैन रंगिन जानकारी
होरी खेलै हँसि-हँसि कऽ मनमोहन आ हुनक राधा प्यारी
शरिर भिजल शिष सँ पैताला तक सँग रहैथ किशन मुरारी
भाउज सभ कहय हमरा किया कऽ मारलौं  पिचकारी
देखु देबर जी देब हम गारी
जखैन होरी के मौसम सजल रकेट के गती मे चलल पिचकारी।।
मिथिलामा रङ्गहरुको पाबन पर्व मनाउनका लागि पृथक मैथिली गीतहरु छन्, जसको अलौकिक बिशेषता छ। “शिब मठ  पर राम खेलत होली” यो गीतको भाव बुझ्दा भगबान राम-जानकीको बिबाह पछि राम शिबजीको मन्दिरमा गई माता जानकीसँग होली मनाएका थिए। मिथिलामा होलीको शुरुवात राम-जानकीले नै गरेको मतहरु पनि पाईन्छ। मिथिलामा होलीबीना अन्य पर्वहरु सुन्य ठानिन्छन्।होलीलाई सम्पुर्ण पर्वहरुको पुरक पर्वको रुपमा मानिन्छ। कुनै बगैंचा फुलबीना सुन्य ठानिन्छ, त्यस्तै होलीबीना अन्य मिथिला संस्कृतिहरु रङ्गहिन बुझिन्छ। अर्को तर्फ होली अनएकतामा एकता ल्याउने पर्व हो। एक रङ्गसँग अर्को रङ्ग मिले तेस्रो रङ्ग निर्माण गरे झै एक-अर्कालाई रङ्ग दल्दा यो पर्वले सत्रुलाई पनि मित्र बनाईदिन्छ। तसर्थ यो पर्व विश्व-बन्धुत्व निर्माण गर्ने पर्व हो। यसैगरी एक अर्को गीत हेरौ-“होली मे लाज नहि कर गोरी, होली मे”, यो गीतमा भगबान कृष्णले रङ्ग-अबिर खेल्न लाज नमान्न आफ्नि प्रेमिका राधालाई मनमोहक शब्दले आफ्नो भाव बयान गरेका छन्।यस्तै मिथिलामा प्रेमि-प्रेमिकाहरुले एक-अर्कालाई रङ्ग\अबिर लगाई आफ्नो प्रेम रसमा रङ्गिन बनाउने चलनको ईतिहास बडो लामो छ, र अहिले यो एक  संस्कृतिको रुपमा संस्थागत भएको छ।अर्को तर्फ जागीरका क्रममा बिदेश गएका श्रीमानको यादमा मिथिलानीहरुले यो गीत गाँउदै आफ्नो श्रीमानको यादमा होली मनाउँछन्: “परदेशिया के नारी सदा द:खिया, परदेशिया..” । यो गीतमा श्रीमतीहरुले आफ्नो भाग्यलाई दोष दिन्छन्, भने देशमा बेरोजगारीको समस्या ब्याप्त रहेको कारण आफ्नो श्रीमान बिदेशिन बाध्य भएको र उनको साथ बिनाको होली फुल बिनाको बगैँचा सरह भएको जस्तो पीडाहरु गीतका माध्यमबाट पोख्छन्। धन्य छन मिथिलाका मिथिलानीहरु जसले आफ्नो पीडा पनि घरमै शान्तिपुर्ण रुपले सीमित राख्छन्, त्यो पनि साहित्यिक सृजनाले।यसै गरी मिथिलाको बाटोमा यदि तपाई हिड्दै हुनुहुन्छ भने- “अहँ म होली खेल्दिन, ममाथि लोला, रङ्ग फाल्न पाईंदैन” भन्न पाउनु हुन्न। आफ्नो घरबाट बिहिर निस्किने बितिक्कै तपाईलाई रङ्गिन हुनै पर्छ। यो गीतले माथिको वाक्यहरुको औचित्यतालाई प्रस्ट्याँउछ,  “अबध मे होली खेलत बलजोरी”।अर्थात जबर्जस्ती पनि तपाईलाई रङ्गको शिकार हुनैपर्छ, मिथिलाबासीको माया-ममताका रङ्गमा तपाईलाई रङ्गित हुनैपर्छ। भिनिन्छ मिथिलामा होलीको दिन मुद्धा पनि लाग्दैन रे ! कसैले दिपावलीको दिनमा तपाईको घरमा पटाखा फोडिदिए, वा तपाई कसैले पडकाएको पटाखाले भौतिक रुपमा वा मानसिक रुपमा क्षति ब्यहोर्नु भयो भने दोषीमाथि कारबाहीको लागि कानुन समक्ष पुग्न सक्नु हुन्छ। तर “होलीको दिन फलानो मान्छेले मेरो ईजाजतबिना ममाथि रङ्ग फाल्यो, त्यसैले सो उपर कारबाही होस” भन्न पाउनु हुन्न। कानुनले तपाईको मुद्धा पनि दर्ता गर्दैन्। अत: यो पर्व एक-अर्कालाई नजिक ल्याउने, सम्बन्ध सुदृढ पार्ने, भाईचारा बढाउने र सहृदयता निर्माण गर्ने एक मात्र साम्यबादी पर्व हो। होलीले कुनै जात, धर्म, बर्ग, लिङ्ग, भाषा, संस्कृति छुट्याउदैन।होली सबैका लागि, सबैद्वारा र सबैको समाजबादी पर्व हो, त्यसैले होलीलाई एक बिशुद्ध साम्यबादी पर्व भन्नु कुनै तर्कहिन कुरो होईन।
 यसैगरी एक अन्तिम गीतबाट परिचित होऔं-
“माघ मास मे आम मजरलय, अघन मे पकलय धान
लाल भेष मे छम-छम करय, गोरीया ले खेने पान
जोगिरा सारारारा.........”
बिभिन्न मौसममा फल्ने अन्न-बालीसँग तुलना गर्दै आफ्नो प्रेमिकासँग मिथिलाबासी होली खेल्छन्। सामान्यतया: रङ्ग दलेर एक-अर्कासँग खुशी मनाउने गरिए तापनि शहरी   ईलाकामा बेलुनमा पानि भरेर हान्ने (लोला हान्ने), फोहोर  पानी बाटोमा हिंड्ने मान्छेलाई छ्याप्ने, केमिकल मिस्रित रंग जस्ता बिकृतिले गर्दा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङ्का  नउठ्ला भन्न सकिन्न।स्मरणिय रहोस कुनै पनि हिन्दु दर्षनका सिद्धान्तले होलीमा गाँजा, दारु, अफिमलगायतका नशालु पदार्थ शेबन गर्न सुझाएको होईन्।नशालु पदार्थ शेबन गर्नेहरुले होलीको मर्ममाथि ठुलै प्रहार गरिरहेका छन्।आशा छ जोगिराले यस्ता बिकृतिलाई संस्थागत गर्न खोज्ने र बैदिक परम्परालाई लत्याई कुसंस्कृति भित्र्याउन खोज्ने दुराचारीमाथि पनि निरम्म प्रहार गरोस। यस बर्ष जोगिराले सम्पुर्ण मधेशी समुदायका बिघ्न-बाधा, समस्या, द्वन्द, अराजकता, र कुसंस्कृतिमाथि ठोस प्रहार गर्दै सम्पुर्ण मधेशीबीच एकता, र सहृदयता ल्याओस जसले मधेशको मुहार फेर्न सकियोस।आज मधेशका कर्णधार मानिने र्युवाहरु दुर्व्यसनी\कुलतको शिकार भईरहेका छन्, कुसंस्कृति बढिरहेको छ, जोगीरा र होलास्टकले मधेशी युवाहरुमा सदबुद्धि ल्याओस र समाजका समस्याहरुसँग लडने शक्ति र देश बिकास गर्ने दृढ बिश्वास भगबानले प्रदान गरुन्।मधेशको अन्न प्यारो लाग्ने तर मधेशी समुदायलाई घृणाको भावले हेर्ने, मधेशलाई सदैब आफ्नो गुलाम बनाएर राख्न खोज्ने शोषक मानसिक्ता र मधेशलाई दुहुनो गाई झैं ठान्ने उग्रमानसिक्तामाथि पनि जोगिराले ठोस प्रहार गरोस भन्ने कामना गर्दछु।होली पर्वले सबै मधेशीबीच सहृदयताको बाताबरण निर्माण गरोस।साथै सदैब मधेश काठमान्डौंको “लाईफलाईन” र अन्नदाताको रुपमा रहोस भन्ने कामना गर्दै सम्पुर्ण पाठकबर्गलाई होलीको शुभकामना !
सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणि नमोऽस्तु ते।।
होलीले सम्पुर्ण जगतलाई कल्याण गरुन्। ह्यापी होली।
(साभार: “द एक्सक्लुसिभ वीक्लि”४-०३-२०१२)