जिवेश झा
यो बर्षको जाडोले सम्पुर्ण मिथिलाबासी
परेशान भए। सबैले होलीको प्रतिक्षा बडो
जोडसोडले गरिरहेका थिए।होली कतिखेर आँउने हो, र कतिखेर मौसम परिबर्तन हुने हो र यो जाडोबाट राहत पाउने हो।प्रतिक्षाको समय अब गए र फाल्गुन आयो। जगतमा रंगहरुको पाबन श्रिङ्गार छ, मिथिलाबासीमा
मस्तीको “बहार” आएको छ र प्रत्येक अनुहारमा खुशियाली र रौनक हेर्न मिल्छ। बजारमा निस्किए पसलहरुमा बिभिन्न प्रकारका रंगीन
पिचकारिहरु हेर्न मिल्छन्। रातो, पहेलो, निलो, गुलाफी र हरियो
रंगका अबीरले मनमोहक वातावरणमा
मस्तीको संदेश दिईरहेको छ। होलीको यो रंग र मस्तीलाई रमाउनका लागि
हिन्दु समाज एक बर्ष प्रतिक्षा गरिरहेको हुन्छ।
होली रंगको पर्व त छ नै, साथै
यो प्रेमको संदेश र भाईचारा (बंधुत्व) को संबाहक पनि
हो। होलीलाई दर्जनौं नामले संबोधित गरिन्छ। दुलन्दि होली,
रङ्गपञ्चमी, बसन्त उत्सव, डोल पुर्णिमा, लठमार होली, होला मोहल्ला, कमन पन्डिगाई,
र फागु पुर्णिमा नामले संसारभर होली प्रसिद्ध छ।यो नै एक पर्व हो जसले समाजमा
एकत्वको भावना जागृत गरी सहृदयताको भाबना प्रत्येक मानवमा जगाँउछ।
हिन्दु समाजमा फागुन शुक्ल अष्टमी देखि
पूर्णिमा सम्म आठ दिन होलाष्टक मनाउने संस्कृति छ।यो सँगै होली उत्सव मनाउने पाबन
दिनको शुरुआत हुन्छ। होलीका दहनको तयारी पनि यहि दिनबाट सुरु हुन्छ। यो पर्वलाई
नवसंवत्सर(नव बर्ष) को आगमन तथा वसंतागमनको उपलक्ष्यमा गरिएको यज्ञको रुपमा लिईन्छ।
वैदिक कालमा यो होली पर्वलाई नवान्नेष्टि
यज्ञ भनिन्थ्यो। पुराणहरुको अनुसार यस्तो पनि मान्यता छ कि जब भगवान शंकरले आफ्नो
क्रोधाग्निबाट कामदेवलाई भस्म गरिदिए, त्यति बेलादेखि नै होली पर्व मनाउने प्रचलन सुरु भयो।यसका
साथै जैमिनीको पूर्व-मिमांसा, नारद पुराण, र भबिष्य पुराणमा पनि होलीको बिस्तृत
बर्णन छ, जसले यो एक बैदिक पर्व हो भन्ने प्रस्ट्याउँछ।
सबसे बढि प्रचलित हिरण्यकश्यपको कथा हो, जसमा उनले आफ्नो
पुत्र प्रहलादलाई जलाउनको लागि आफ्नि बहिनी होलीकालाई बोलाँउछन्।सत्ययुगमा
बिष्णुदेबका भक्त प्रहलादलाई मार्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरु बुन्दा
पनि मार्न सकेन्न।त्यसपछि हिरण्यकश्यपले
आगोबाट नजल्ने, नमर्ने बरदान
पाएकी होलिकालाई प्रहलाद्लाई काखमा लिएर
आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भएकोले असत्य
माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्वलाई भब्यताका साथ आदिकालदेखि नै मनाइने
गरिएको हो। एक अर्को पौराणिक मान्यता अनुसार भगवान श्री कृष्ण श्यामस्वेत थिए र
उनकी प्रेमिका राधा श्वेत वर्ण (गोरी) थिईन। कृष्णलाई आफू राधा जस्तो सुन्दर नभएको
भान हुन्थ्यो, त्यसैले उनि सदैब राधासँग ईर्ष्या गर्दथे र आफ्नो आमा यशोदा कहाँ गई
आफ्नो असन्तुष्टि पोख्थे। एक दिन यशोदाले श्री कृष्णलाई आफ्नो सबसे बढि मन पर्ने
रंग राधाको गालामा लगाईदिन सुझाब दिईन। त्यसपछि त राधा कृष्णमय रंगले रंगिन भई
राधा-कृष्ण अटुट प्रेम बन्धनमा बाँधिए।त्यसपछि होली पर्व मनाउने संस्कृतिले
संस्थागत मान्यता पायो। आज पनि प्रेमी-प्रेमिकाहरुले राधा-कृष्णको जोडीलाई
उद्याहरणिय मान्छन्।पौराणिक मत अनुशार फागुन पूर्णिमा– होलीको दिन जसले मन एकाग्र
गरेर झूलामा झूल्दै भगवान विष्णुलाई सम्झन्छन्, उनि निश्चय नै मोक्ष प्राप्त गर्छन्।
होली पूजन पश्चात होलिका दहन गरिने
परम्परा छ। यो दहन सदैव भद्रा (भदबा) लगन नहुने समयमा गरिन्छ। मान्यता अनुशार भद्रा
लगनमा होलीका दहन गरे अशुभ परिणामहरु भित्रिन्छ, जस्तै देशमा विद्रोह, , हिंशा, अराजकता
आदि। यसै प्रकार चतुर्दशी, प्रतिपदा अथवा दिनमा पनि होलिका दहन गर्ने विधान छैन। होलिका दहनको समयमा
गहूँको बालालाई आगोमा भुट्नु पर्छ । एक मत अनुशार होलीका दहनको समयमा धानको बाला भुटेर
घरमा यत्र-तत्र फाल्नुले धन-ऐश्वर्यमा बृद्धि
हुन्छ।अर्को तर्फ किसानहरुले लगाएको बिउ-बालीको पनि अपेक्षाकृत उत्पादन हुने
मान्यता छ। होलीका दहन पश्चात त्यसबाट निस्केको खरानी-होली भस्म शरीरमा दले स्वस्थ
र समृद्ध भइन्छ र घरमा शांति र प्रेमको वातावरण निर्माण हुन्छ। साथै एक-अर्काले
होली भष्म एक-अर्कालाई दले आपसी सदभाव तथा भाइचारा अभिवृद्धि हने मान्यता पनि छ।
मिथिलामा होली
मैथिली समाजमा जोगिरा नामको गीत तथा
भजन गाएर होलीकाको अन्त्य भएकोमा खुसीमा होली मनाइने गरिन्छ । रंगहरूसँगै होलीको
दिन सामूहिक रूपमा जोगिरा गाउने र मनोरञ्जन लिने प्रचलन छ ।यस वर्षको होलीको
जोगिराको मूल आशय समयमै संविधान निर्माण, शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा
पुर्याउने र मधेशलाई अधिकार सम्पन्न बनाई मधेशमैत्रि संबिधान बनाउने विषयहरू रहेका
छन् । जोगिराले समाजका ब्याप्त विकृतिमाथि
पनि प्रहार गर्ने गर्दछ ।यी पङ्क्तिकारद्वारा रचित यो मैथिली मुक्तकले मिथिलामा
खेलिने होलीको ब्याख्या गर्छ:
जखैन होरी के मौसम सजल रकेट के गती मे
चलल पिचकारी
समाचार शीर्षक सभ भेल रंग गुलाल, जन-जन पौलैन रंगिन जानकारी
होरी खेलै हँसि-हँसि कऽ मनमोहन आ हुनक राधा प्यारी
शरिर भिजल शिष सँ पैताला तक सँग रहैथ किशन मुरारी
भाउज सभ कहय हमरा किया कऽ मारलौं पिचकारी
देखु देबर जी देब हम गारी
जखैन होरी के मौसम सजल रकेट के गती मे चलल पिचकारी।।
मिथिलामा
रङ्गहरुको पाबन पर्व मनाउनका लागि पृथक मैथिली गीतहरु छन्, जसको अलौकिक बिशेषता छ।
“शिब मठ पर राम खेलत होली” यो गीतको भाव
बुझ्दा भगबान राम-जानकीको बिबाह पछि राम शिबजीको मन्दिरमा गई माता जानकीसँग होली
मनाएका थिए। मिथिलामा होलीको शुरुवात राम-जानकीले नै गरेको मतहरु पनि पाईन्छ।
मिथिलामा होलीबीना अन्य पर्वहरु सुन्य ठानिन्छन्।होलीलाई सम्पुर्ण पर्वहरुको पुरक
पर्वको रुपमा मानिन्छ। कुनै बगैंचा फुलबीना सुन्य ठानिन्छ, त्यस्तै होलीबीना अन्य
मिथिला संस्कृतिहरु रङ्गहिन बुझिन्छ। अर्को तर्फ होली अनएकतामा एकता ल्याउने पर्व
हो। एक रङ्गसँग अर्को रङ्ग मिले तेस्रो रङ्ग निर्माण गरे झै एक-अर्कालाई रङ्ग
दल्दा यो पर्वले सत्रुलाई पनि मित्र बनाईदिन्छ। तसर्थ यो पर्व विश्व-बन्धुत्व
निर्माण गर्ने पर्व हो। यसैगरी एक अर्को गीत हेरौ-“होली मे लाज नहि
कर गोरी, होली मे”, यो गीतमा भगबान कृष्णले रङ्ग-अबिर खेल्न लाज नमान्न आफ्नि
प्रेमिका राधालाई मनमोहक शब्दले आफ्नो भाव बयान गरेका छन्।यस्तै मिथिलामा
प्रेमि-प्रेमिकाहरुले एक-अर्कालाई रङ्ग\अबिर लगाई आफ्नो प्रेम रसमा रङ्गिन बनाउने
चलनको ईतिहास बडो लामो छ, र अहिले यो एक
संस्कृतिको रुपमा संस्थागत भएको छ।अर्को तर्फ जागीरका क्रममा बिदेश गएका
श्रीमानको यादमा मिथिलानीहरुले यो गीत गाँउदै आफ्नो श्रीमानको यादमा होली
मनाउँछन्: “परदेशिया के नारी सदा द:खिया, परदेशिया..” । यो गीतमा
श्रीमतीहरुले आफ्नो भाग्यलाई दोष दिन्छन्, भने देशमा बेरोजगारीको समस्या ब्याप्त
रहेको कारण आफ्नो श्रीमान बिदेशिन बाध्य भएको र उनको साथ बिनाको होली फुल बिनाको
बगैँचा सरह भएको जस्तो पीडाहरु गीतका माध्यमबाट पोख्छन्। धन्य छन मिथिलाका
मिथिलानीहरु जसले आफ्नो पीडा पनि घरमै शान्तिपुर्ण रुपले सीमित राख्छन्, त्यो पनि
साहित्यिक सृजनाले।यसै गरी मिथिलाको बाटोमा यदि तपाई हिड्दै हुनुहुन्छ भने- “अहँ म होली खेल्दिन, ममाथि लोला, रङ्ग
फाल्न पाईंदैन” भन्न पाउनु हुन्न। आफ्नो घरबाट बिहिर निस्किने बितिक्कै
तपाईलाई रङ्गिन हुनै पर्छ। यो गीतले माथिको वाक्यहरुको औचित्यतालाई
प्रस्ट्याँउछ, “अबध मे होली खेलत
बलजोरी”।अर्थात जबर्जस्ती पनि तपाईलाई रङ्गको शिकार हुनैपर्छ,
मिथिलाबासीको माया-ममताका रङ्गमा तपाईलाई रङ्गित हुनैपर्छ। भिनिन्छ मिथिलामा
होलीको दिन मुद्धा पनि लाग्दैन रे ! कसैले दिपावलीको दिनमा तपाईको घरमा पटाखा
फोडिदिए, वा तपाई कसैले पडकाएको पटाखाले भौतिक रुपमा वा मानसिक रुपमा क्षति
ब्यहोर्नु भयो भने दोषीमाथि कारबाहीको लागि कानुन समक्ष पुग्न सक्नु हुन्छ। तर “होलीको दिन फलानो मान्छेले मेरो
ईजाजतबिना ममाथि रङ्ग फाल्यो, त्यसैले सो उपर कारबाही होस” भन्न पाउनु हुन्न। कानुनले तपाईको
मुद्धा पनि दर्ता गर्दैन्। अत: यो पर्व एक-अर्कालाई नजिक ल्याउने, सम्बन्ध सुदृढ
पार्ने, भाईचारा बढाउने र सहृदयता निर्माण गर्ने एक मात्र साम्यबादी पर्व हो।
होलीले कुनै जात, धर्म, बर्ग, लिङ्ग, भाषा, संस्कृति छुट्याउदैन।होली सबैका लागि,
सबैद्वारा र सबैको समाजबादी पर्व हो, त्यसैले होलीलाई एक बिशुद्ध साम्यबादी पर्व
भन्नु कुनै तर्कहिन कुरो होईन।
यसैगरी एक अन्तिम गीतबाट परिचित होऔं-
“माघ मास मे आम मजरलय, अघन मे पकलय धान
लाल भेष मे छम-छम करय, गोरीया ले खेने पान
जोगिरा सारारारा.........”
बिभिन्न मौसममा फल्ने अन्न-बालीसँग
तुलना गर्दै आफ्नो प्रेमिकासँग मिथिलाबासी होली खेल्छन्। सामान्यतया: रङ्ग दलेर एक-अर्कासँग
खुशी मनाउने गरिए तापनि शहरी ईलाकामा बेलुनमा
पानि भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा
हिंड्ने मान्छेलाई छ्याप्ने, केमिकल मिस्रित रंग जस्ता बिकृतिले गर्दा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का
उपशङ्का नउठ्ला भन्न सकिन्न।स्मरणिय रहोस
कुनै पनि हिन्दु दर्षनका सिद्धान्तले होलीमा गाँजा, दारु, अफिमलगायतका नशालु
पदार्थ शेबन गर्न सुझाएको होईन्।नशालु पदार्थ शेबन गर्नेहरुले होलीको मर्ममाथि
ठुलै प्रहार गरिरहेका छन्।आशा छ जोगिराले यस्ता बिकृतिलाई संस्थागत गर्न खोज्ने र
बैदिक परम्परालाई लत्याई कुसंस्कृति भित्र्याउन खोज्ने दुराचारीमाथि पनि निरम्म
प्रहार गरोस। यस बर्ष जोगिराले सम्पुर्ण मधेशी समुदायका बिघ्न-बाधा, समस्या, द्वन्द, अराजकता, र
कुसंस्कृतिमाथि ठोस प्रहार गर्दै सम्पुर्ण मधेशीबीच एकता, र सहृदयता ल्याओस जसले
मधेशको मुहार फेर्न सकियोस।आज मधेशका कर्णधार मानिने र्युवाहरु दुर्व्यसनी\कुलतको शिकार
भईरहेका छन्, कुसंस्कृति बढिरहेको छ, जोगीरा र होलास्टकले मधेशी युवाहरुमा
सदबुद्धि ल्याओस र समाजका समस्याहरुसँग लडने शक्ति र देश बिकास गर्ने दृढ बिश्वास
भगबानले प्रदान गरुन्।मधेशको अन्न प्यारो लाग्ने तर मधेशी समुदायलाई घृणाको भावले
हेर्ने, मधेशलाई सदैब आफ्नो गुलाम बनाएर राख्न खोज्ने शोषक मानसिक्ता र मधेशलाई दुहुनो
गाई झैं ठान्ने उग्रमानसिक्तामाथि पनि जोगिराले ठोस प्रहार गरोस भन्ने कामना
गर्दछु।होली पर्वले सबै मधेशीबीच सहृदयताको बाताबरण निर्माण गरोस।साथै सदैब मधेश
काठमान्डौंको “लाईफलाईन” र अन्नदाताको रुपमा रहोस भन्ने कामना गर्दै सम्पुर्ण
पाठकबर्गलाई होलीको शुभकामना !
सर्वमंगलमांगल्ये शिवे
सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणि
नमोऽस्तु ते।।
होलीले सम्पुर्ण जगतलाई कल्याण गरुन्।
ह्यापी होली।
(साभार: “द एक्सक्लुसिभ
वीक्लि”४-०३-२०१२)
No comments:
Post a Comment