जिवेश झा-
मिथिला पर्वहरुको स्थल हो। यहाँको दिनचर्यामा नै पर्व-उत्सवहरुले राम्रै जड गाडेको
छ।यस्तै एक पर्व हो रामनवमी। रामनवमी, भगवान रामको स्मृतिमै समर्पित छ। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम
भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यो पर्व चैत्र
नवरात्रको विचमा आउने भएकाले यो दिनमा भगवान श्री रामका साथै शक्ति रुपी माता नव
दुर्गा देवीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा
जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरि जन कल्याण गरिएको
सम्झनामा यो पर्व मनाईंन्छ । दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा शक्तिरुपा
दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ। हिन्दू धर्मावलम्बीहरु
रामनवमीका दिन बिहानै नुहाईधुवाई गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन्।
असुरहरुको संहार गर्नका लागि भगवान विष्णुले
राम रूपी अवतारमा पृथ्वीमा जन्म लिए र आजीवन मर्यादाको पालन गरेकाले उनलाई मर्यादा-पुरुषोत्तम भनिन्छ।
असत्यमाथि सत्यको विजय भएको कारणले भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी
पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरस्थित
रामजानकी मन्दिरमा मेला भर्न विश्वका लाखौं हिन्दु भक्तजनहरु आउने गर्दछन् । राम
मन्दिरमा मिथिलानीहरुले भजन किर्तन गरेर रामको जन्मोत्सवलाई स्वागत गर्दै दश दिन
अगाडिदेखि नै बधाईरुपी गीत (सोहर खेलौना) गाउने गर्दछन्। अयोध्यामा रामनवमीको
दिनमा हर्षोल्लास पूर्वक भगवान राम, सीता, लक्ष्मण र राम-भक्त हनुमानको रथयात्रा निकालिन्छ, जसमा लाखौं
श्रद्धालुहरु भाग लिन्छन्। आज पनि मर्यादा
पुरुषोत्तम रामको जन्मोत्सव धूमधामसँग त
मनाईन्छ नै तर उनको आदर्शहरुलाई व्यबहारिक जीवनमा लगु गरिन्न। भगवान् श्रीरामको
जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ गर्ने, वाल्मीकीय रामायण, तुलसीकृत रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना
गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । विनम्र र सौम्य प्रवृतिका प्रतीक मर्यादा
पुरुषोत्तम भगवान श्रीरामको जन्मदिनको शुभ अवसरमा
चैत्र शुक्ल महिनाको नवमी तिथिलाइ
रामनवमी जस्तो विशेष पर्व मनाईन्छ।
श्रीरामले मिथिलाका राजा जनक नन्दनी जानकीसँग विवाह गरेपछि संसारबाट पापी तथा
दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण
गरी मानवजातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएका छन्।अयोध्याका राजकुमार भए
पनि भगवान रामले आफ्नो पिताको बचनलाई सत
प्रतिशत पालना गरे र संपूर्ण वैभवलाई त्यागी 14 वर्षका लागि वनबास प्रस्थान गरे।तर बर्तमानमा सम्पतिका लागि
पुत्रले आफ्ना माता-पीतालाई अपमान गर्ने र आफ्नो परम दुश्मन ठान्ने गरेको कुरा
नौलो होईन्।रामनवमी र जन्माष्टमी त उल्लासपूर्वक मनाईन्छ नै तर उक्त पर्वको
संदेशलाई ब्यवहारमा अपनाईदैन।
श्रीकृष्णद्वारा अर्जुनलाई दिईएको गीता ज्ञान आज एक ग्रंथमा मात्रै सीमित भएको छ, र मानवीय
ब्यवहारमा एक झलक पनि हेर्न बिरलै छ। कलयुग गीता नेपालको संबिधान बनेको छ। यो
गीता “घुस-भ्रस्टाचार मानव जीबनको प्रमुख आधार” भन्ने नाराले
सुत्रित छ र आजका कृस्ण ठान्ने पापी
नेताहरुको ब्यवहारबाट यो शुक्ति सिद्ध हुन्छ। तुलसीदासजीले रामचरित मानसमा भगवान
रामको जीवनलाई वर्णन गर्दै भनेका थिए कि श्रीराम
प्रातः आफ्नो माता-पिताको चरण स्पर्श गर्दथे जबकि आज चरण स्पर्श त धेरै टाढाको
कुरो हो, सन्तानले आमा-बुवासँग राम्रो मुखले कुरासम्म गर्दैन्न। परिस्थिति यो छ कि
महापुरुषहरुका आदर्श ज्ञान मात्र टीभीका
कथानक सिरिलय र किताबहरुमा सिमित भएका छन्।
नेताहरुले समेत सत्ता हासिल गर्नका लागि श्रीरामको आडमा आफ्नो भोट कमाउन चाहन्छन र
समाजमा सम्प्रदायिक हिंसा भडकाउन पनि उद्दत छन्। यदि साँचो अर्थमा रामको आराधना
गर्न चाहन्छौं भने “राम राज्य” स्थापित गर्नुपर्छ र तब मात्र "जय श्रीराम" को
उच्चारण गर्नका लागि “फिट” ठानिन्छौं र अंतत: उनको आदर्श र विचारलाई आत्मसात गरि
समाजमा सहृदयता र एकत्व ल्याउन सक्छौं।रामनवमीमा यो मंत्र उच्चारण गरौं-
आदि राम
तपोवनादि गमनं, हत्वा मृगं कांचनम्।
वैदीहीहरणं
जटायुमरणं, सुग्रीवसंभाषणम्।।
बालीनिर्दलनं
समुद्रतरणं, लंकापुरीदाहनम्।
पश्चाद् रावण
कुम्भकर्ण हननम्, एतद्धि रामायणम्।।
आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र
अर्को जन्ममा बैकुण्ठ बास हुने ‘व्रतार्क’ नामक धर्मग्रन्थमा
उल्लेख छ । अब सँघिय राज्य होइन राम राज्य चाहिएको छ | राम आउनै पर्छ र उनको
आदर्श पनि | आजको राम नवमीले हामीलाइ
रामको मर्यादा, आदर्श र चरित्रले परिपुन गरोस, यहि शुभकामना |
No comments:
Post a Comment