Sunday, October 21, 2012

सत्य, धर्म र शक्तिको प्रतीक – दशैं


जिवेश झा

नेपाल (लगायत हिन्दु समाज) मा आजभोली दशैंको सरगर्मी चढेको छ। रावण-वध र दुर्गा पूजनका साथै विजयदशमीको रौनक हरेक घरमा सजिएको छ। दशैं बच्चाहरुका लागि मेला घुम्ने पर्व हो भने  रामलीलाको रौनकताले बुजुर्गलाई आकर्षित गर्छ। असत्य र पाप जति बलवान भए पनि अंत्यमा सर्बदा जीत सत्यकै हुन्छ भन्ने शुक्तिको प्रतिक दशैं हो।हिन्दु दर्शनलगायत मनुस्मृतिका अनुशार  संसारमा कहिं पनि असत्य र पापको साम्राज्य दिर्घायु हुँदैन , यसको जीबनचक्र अल्पकालिन नै हुन्छ।

दशौं दिन बिजयादशमी -यसै दिन  भगवान रामले रावण वध गरेका थिए। उक्त दिनलाई  असत्य माथि सत्यको विजयको  रूपमा मनाईन्छ।त्यसैले यस  दशमीको दिनलाई विजयादशमीको नामले  जानिन्छ।दशहरा वर्षका तीन अत्यन्त शुभ तिथिहरु मध्ये एक हो, अन्य दुई- चैत्र शुक्ल एवं कार्तिक शुक्ल प्रतिपदा हो। बिजया दशमी कै दिन कुनै पनि शुभ कार्य प्रारम्भ गर्नु औचित्यपुर्ण मानिन्छ ।प्राचीन कालमा राजा-महाराजाहरुले  यहि दिनमा विजयको प्रार्थना गरि रणभुमी -यात्राका लागि प्रस्थान गर्दथे र बर्ष भरि कै लागि बिजयादशमीको पुजन फलदायी हुन्थ्यो। दशहरा पर्वले दस प्रकारका पापहरु- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी लाई  परित्याग गर्न सद्प्रेरणा प्रदान गर्दछ।

रामलीलाको आयोजन

दशहरा भन्दा दस दिन पूर्वदेखि नै हिन्दु समाजमा रामलीलाका आयोजन शुरू हुन्छन, जसमा प्रभु रामको जीवन वर्णन गरिन्छ र बिजयादशमीको दिन रावणको संहार (बध)गरिन्छ। यहिं दिन विभिन्न ठँउमा रावण, कुम्भकर्ण तथा मेघनाथका ठुल-ठुला  पुतलाहरु उभ्याईन्छ  र साँझ श्रीराम आफ्ना युवक सेनालाई साथमा लिएर रावण बध गर्छन। राबण बधको समय तमाम आयु, वर्ग, समप्रदायका लागि  आकर्षणको केंद्र हुन्छ। राम-रावण युद्धको प्रमुख कारक तत्व  थिए- रावण द्वारा गरिएको सीता अपहरण एवं उनको बढदो  अत्याचार।  बिजयादशमीले तमाम मानवप्राणीमा एक अदभुत पुरुषोत्तम बन्ने शक्ति प्रदान गर्छ र अत्याचार बिरुद्ध लडने शक्ति बढाउँछ।
दुर्गा पूजा हिजो पनि जनकपुरमा  शक्ति पूजाको रूपमा  प्रचलित थिए र आज पनि । आफ्नो  सांस्‍कृतिक विरासतका लागि  प्रसिद्ध मिथिलाको राजधानी जनकपुरमा दशहराको अर्थ हो  दुर्गा पूजा।  मिथिलाबासी यस पाली दसैंको आठै दिन  पूजा-अर्चनामा व्यस्त छन्। दशैंमा चार दिन क्रमश: सप्तमी, अष्टमी, नौवीं र दसमी को खाश महत्व हुन्छ। मिथिलामा झिझियाको पनि खाश महत्व छ दशैंमा। झिझियाको प्रकाश झैं  सत्यको प्रकाश पनि गली-गलीमा फैलियोस भन्ने चाहना हरेक मिथिलानीमा हुन्छ। माता दुर्गाका ठुल-ठुला  प्रतिमाहरु बनाईन्छन, र माता दुर्गालाई राक्षस महिषासुर वध गरि रहेको रुपमा देखाईन्छ।

देशको  बाँकि शहरमा पनि दशहराको  रमझम हेर्न मिल्छ। सदाझैं  यस बर्ष पनि दशैंले हाम्रा तमाम आशा र उत्साहलाई पुरा गरुन।  दशहरा पर्वले  तपाईंको जीवनमा पापको अंत्य र समाजमा  नयाँ ऊर्जा र उत्साह थपुन भन्ने कामना गर्न चाहन्छु।समग्र हिन्दु समुदायलाई बिजयादशमीको हार्दिक मङ्गलमय शुभकामना।
(साभार: द एक्सक्लुसिभ वीक्ली, जनकपुरधाम, मिति २१ अक्टोबर २०१२)

No comments:

Post a Comment