Monday, February 20, 2012

Interview with Nirmala Mani Adhikary on SMC


साधारणिकरण मोडेलका प्रतिपादक श्री अधिकारीको अन्तरवार्ता
 काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागमा मिडिया अध्ययनका प्राध्यापक निर्मलमणि अधिकारी सञ्चारको सैद्धान्तिक अध्ययनका क्षेत्रमा एक विशिष्ट प्रतिभा हुन् । सञ्चारको हिन्दू दार्शनिक-सांस्कृतिक अध्ययनका क्षेत्रमा त झन् यिनी आधिकारिक विज्ञ नै मानिन्छन् । अधिकारीद्वारा प्रतिपादित सञ्चारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) पूर्वीय हिन्दू दृष्टिकोण अनुसार निर्मित संसारकै पहिलो सञ्चारढाँचा हो । यसलाई सञ्चारविज्ञानको गहन उपलब्धिका रूपमा स्वीकार गर्दै देशविदेशका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन-अध्यापन गरिन्छ । सञ्चारसिद्धान्त, पत्रकारिता, साहित्य एवं दर्शनजस्ता क्षेत्रमा अधिकारीद्वारा लिखित दुई दर्जन भन्दा बढी पुस्तककृतिहरू र दर्जनौँ अनुसन्धानलेखहरू प्रकाशित भइसकेका छन्। 
सञ्चारविद् अधिकारीसँग पत्रकार जीवेश झाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत छ :-
साधारणीकरण सिद्धान्तबारे संक्षिप्त जानकारी दिनुस् न ।
साधारणीकरण सिद्धान्त भन्नाले भारतवर्षीय काव्यशास्त्रको एक सिद्धान्त बुझिन्छ । यस सिद्धान्तले कुनै एक व्यक्तिको अनुभूति र अभिव्यक्तिलाई कसरी अन्य व्यक्तिहरुले बुझ्दछन्, कसरी सफलतापूर्वक रसास्वादन हुन्छ भन्ने व्याख्या गर्दछ । यसलाई भरतमुनिको नाट्यशास्त्र मा वर्णित रससिद्धान्तका आधारमा भट्टनायकले व्याख्या गरेका थिए । साहित्यिक समीक्षाका क्षेत्रमा सदैव चर्चित रहेको यो सिद्धान्तको सान्दर्भिकता ज्ञानका अन्य विधामा पनि हुने कुरातर्फ भने पछि मात्र विद्वानहरुको ध्यान गएको हो । सञ्चारको सैद्धान्तिक अध्ययनका क्षेत्रमा पनि साधारणीकरण सिद्धान्त सान्दर्भिक रहेको भनी भारतीय विद्वानहरु जे.एस. यादव र आई.पी. तिवारीले सन् १९८० मा व्याख्या गरेपछि विश्वभरका सञ्चारअध्येताहरुको ध्यान यतातर्फ तानियो । सोही साधारणीकरण सिद्धान्तलाई सञ्चारका परिप्रेक्ष्यमा थप विश्लेषण गर्दै सञ्चारको साधारणीकरण ढाँचा बनाइएको हो ।
तपाईँले प्रतिपादन गर्नुभएको सञ्चारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) लाई कसरी परिभाषित गर्नु हुन्छ ?
सञ्चारप्रक्रियालाई हिन्दू विश्वदृष्टिकोणबाट गरिएको सैद्धान्तिकरणको चित्रमय प्रस्तुति नै साधारणीकरण ढाँचा हो । यसले हिन्दू समाजमा सञ्चारप्रक्रिया कसरी व्यवहारित हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यसले हिन्दू समाजमा सहृदयताका लागि सञ्चार भन्ने मान्यता रहेको प्रष्ट्याउँछ । 
यो ढाँचा प्रतिपादन गरिनुको पृष्ठभूमिबारे प्रष्ट्याइदिनु हुन्छ कि !
पश्चिमा सन्दर्भमा सञ्चारको सैद्धान्तिक अध्ययन गरी सिद्धान्त र ढाँचाहरु निर्माण गर्ने लहर नै चलेकाले धेरैवटा सञ्चारढाँचाहरु बनाएका छन् । हाम्रोमा भने पहिलोपल्ट वि.सं. २०६० (सन् २००३) मा यो ढाँचा प्रस्तुत गरिएको हो । आमसञ्चार र पत्रकारिता विषयमा एम.ए. को शोधपत्रमार्फत् मैले साधारणीकरण ढाँचा (SMC) प्रस्तुत गरेको थिएँ । प्राचीन साधारणीकरण सिद्धान्तलाई सञ्चार अध्ययनका सन्दर्भमा अर्थापन गर्दै एवं भरतमुनिको नाट्यशास्त्र र भर्तृहरिको वाक्यपदीय का आधारमा यसको निर्माण गरिएको हो । गैरपश्चिमा संस्कृतिलाई प्रतिनिधित्व गर्ने पहिलो सञ्चारढाँचा हुने गौरव यसले पाएको छ ।
हिन्दू समाजमा हुने सञ्चारप्रक्रियालाई यसले कसरी प्रतिनिधित्व गर्दछ ?
हिन्दू समाज पनि आफैँमा विविधतायुक्त समाज हो । त्यसैले कुनै एउटा मात्र सञ्चारसिद्धान्त एवं ढाँचाले सारा हिन्दू समाजको शतप्रतिशत प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । तर, जति नै विविधतायुक्त भए तापनि हिन्दू समाजका केही आधारभूत पक्ष भने समान छन् । साधारणीकरण ढाँचामा त्यस्ता आधारभूत पक्षलाई ख्याल राखिएकाले यसले हिन्दू समाजमा व्यवहारित सञ्चारको सामान्यीकृत प्रतिनिधित्व गर्न सक्दछ । सञ्चारकर्ताहरुबीच सहृदयता हुनु नै हिन्दू पद्धतिमा सञ्चारको आदर्श लक्ष्य हो भन्ने कुरालाई साधारणीकरण ढाँचाले देखाउँछ ।
यसलाई हिन्दू सञ्चार सिद्धान्त पनि भनिएको पाइन्छ । किन ? यसलाई धार्मिक वा साम्प्रदायिक आधारमा हेरिने खतरा कत्तिको देख्नु हुन्छ ?
हो, यसलाई हिन्दू सञ्चार सिद्धान्त पनि भनिएको पाइन्छ । यसको अर्थ के हो भने यसको मूल हिन्दू संस्कृति एवं दर्शनमा रहेको छ र यसलाई हिन्दू समाजले आफ्नो व्यवहारमा अङ्गीकार गरेको पाइन्छ । यसरी उक्त सिद्धान्त÷ढाँचाको उद्भवलाई जनाउनका लागि त्यसको भनिएको हो । यसको कुनै धार्मिक वा साम्प्रदायिक अर्थ छैन । जसरी योगलाई सबै धर्म, सम्प्रदाय, संस्कृतिका मानिसकालागि उपयुक्त मानिएको छ, त्यसरी नै साधारणीकरण पनि बृहद् प्रयोजन भएको सिद्धान्त हो ।
के साधारणीकरण ढाँचा हिन्दूबाहेक अन्य संस्कृतिमा पनि लागू हुन सक्छ ?
यो हिन्दूबाहेक अन्य संस्कृतिमा लागू हुन सक्छ कि सक्दैन भन्ने कुराको निक्र्योल गर्न सजिलो छैन ।एकातिर सञ्चारको अध्ययन संस्कृतिसापेक्ष हुनु पर्छ भन्ने विश्वव्यापी मान्यता भएकाले विभिन्न सांस्कृतिक परिवेशमा सञ्चारलाई बुझ्न विभिन्न सिद्धान्त र ढाँचाहरु चाहिन्छन् भन्ने नै मान्नु पर्छ । अर्कोतिर, “सहृदयताको लागि सञ्चारभन्ने जुन मान्यता साधारणीकरण ढाँचाले बोकेको छ, त्यसको वैश्विक मूल्य रहेको छ भन्न पनि हिच्किचाउनु पर्दैन । त्यसैले यो सञ्चार ढाँचालाई जुनसुकै परिवेशमा एउटा सन्दर्भढाँचाका रुपमा लिन सकिन्छ । विश्वशान्ति एवं विश्वबन्धुत्वको प्रबद्र्धन तथा द्वन्द्वव्यवस्थापनका लागि यसले सकारात्मक योगदान पुर्‍याउन सक्छ ।
सञ्चार तथा पत्रकारिताको अध्ययनका क्षेत्रमा नेपालको अवस्थालाई वैश्विक अवस्थासँग कसरी तुलना गर्नुहुन्छ ?
सञ्चार तथा पत्रकारिताको अध्ययन विश्वका विभिन्न देशमा विभिन्न किसिमसँग भइरहेको छ । संस्कृति, मानव संसाधन तथा भौतिक संरचनात्मक विकास, यी अनेक पक्षमा रहेको विविधताका कारणले गर्दा फरक फरक ठाउँमा फरक फरक अवस्था हुनु स्वाभाविक पनि हो । केही समययता हामीले यस विधामा निक्कै प्रगति गरेका छौँ भन्न हिच्किचाउनु पर्दैन, तर सैद्धान्तिक र व्यावहारिक दुवै पाटामा हामीले गर्न बाँकी काम अझै धेरै छन् ।
नेपालमा सञ्चार तथा पत्रकारिताको अध्ययनलाई विकास गर्नका लागि के गर्नु पर्ला ?
सैद्धान्तिक अध्ययनकै सन्दर्भमा केन्द्रित भएर भन्नुपर्दा, बितेका धेरै वर्ष नेपालमा पश्चिमा सिद्धान्तहरुको अन्धानुकरण मात्र गर्नेखालको प्रवृत्ति देखिएको थियो । हालका वर्षहरुमा त्यस्तो प्रवृत्तिमाथि प्रश्न उठाउन थालिएको छ । तर प्रश्न मात्र उठाएर पुग्दैन, वैकल्पिक ज्ञान प्रणाली पनि विकास गर्न सक्नु पर्छ । नेपालमा वैश्विक र स्थानिक दुवै ज्ञानलाई समेट्ने गरी ग्लोकल(Glocal) अध्ययन पद्धतिलाई प्रबद्र्धन गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।
(साभार मिथिलाञ्चल बिशेष दैनिक)


No comments:

Post a Comment